विरोधका बीच निलम्बित सांसद मोहन बस्नेतले गरे खानेपानी आयोजनाको उद्घाटन

विरोधका बीच निलम्बित सांसद मोहन बस्नेतले गरे खानेपानी आयोजनाको उद्घाटन

फरक पत्रिका

सोमबार, जेष्ठ ६ २०८२

विरोधका बीच निलम्बित सांसद मोहन बस्नेतले गरे खानेपानी आयोजनाको उद्घाटन

सिन्धुपाल्चोक । टेरामक्स प्रकरणमा ३ अर्व २१ करोड बढी भ्रष्टाचार मुद्धा दायरपछि सांसद पदवाट निलम्वनमा परेका मोहनबहादुर बस्नेतले विरोधका बीच खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको विरोधका वीच पनि बस्नेतले बलमिच्याईं गर्दै आयोजनाको उद्घाटन गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेत आज अघिपछि कांग्रेस कार्यकर्ताको र्याली लिएर तामझाम सहित खानेपानी योजना उद्घाटनका लागि निगाले पुगेका थिए । मोटरसाइकल, गाडीको लावालस्कर र कार्यकर्ताको नाराबाजी सहित लिसंखुपाखर गाउँपालिकामा पुगेका बस्नेतले निगाले नारगाउँ खानेपानी उद्घाटन गरे ।

लिसंखु पाखर गाउँपालिकाले आइतवार विज्ञप्ति जारी गाउँपालिकाको जिम्मेवारी र क्षेत्राधिकारभित्र पर्ने खानेपानी योजना भ्रष्टाचारमा मुछिएका र अदालतमा मुद्धा खेपिरहेका व्यक्तिवात उद्घाटन गर्न उचित नहुने भन्दै असम्वन्धित व्यक्तिवाट योजनाको उद्घाटन नगर्न नगराउन सम्वन्धित पक्षलाई आग्रह गरेको थियो ।

गाउँपालिका अध्यक्ष राजु लामाले खानेपानी योजना संचालन, व्यवस्थापन र सम्वन्धित योजनाहरुको हस्तान्तरण स्थानीय तहको जिम्मेवारीमा पर्ने स्मरण गराउँदै पालिकाको सहमति र समन्वय विना असम्वन्धित व्यक्तिवाट खानेपानी योजना उद्घाटन गर्नु संबिधान, प्रचलित कानून र स्थानीय सरकारको स्वायत्तताको गम्भीर उल्लंघन हुने बताएका थिए । नेकपा माओवादी केन्द्र लिसंखु पाखर गाउँपालिका समितिका इन्चार्ज पुर्णवहादुर तामाङ र अध्यक्ष होमलाल श्रेष्ठले पनि आज विहान बिज्ञप्ति निकालेर भ्रष्टाचार मुद्धामा मुछिएको व्यक्तिले योजना उद्घाटन गर्नु गलत हुने भन्दै स्थानीय तहको सहमति, समन्वय र स्विकृति विना त्यस्तो काम नगर्न आग्रह गरेका थिए ।

तर, कांग्रेस नेता बस्नेतले स्थानीय सरकारको निर्देशन र राजनीतिक दलको आग्रहलाई अवज्ञा गरी दलबल सहित शक्ति प्रदर्शन गरेर प्रमुख अतिथिको हैसियतले खानेपानीको उद्घाटन गरेका हुन् । निगाले नारगाउँ खानेपानी योजना निर्माणकालागि लिसंखुपाखर गाउँपालिकाको २०७९ पुस १९ गतेको कार्यपालिका वैठकको निर्णय अनुसार राष्ट्रिय योजना आयोगवाट विशेष अनुदान योजना अन्तर्गत बजेट परेको थियो । ठेक्का प्रक्रियावाट निर्माण भएको खानेपानी योजना गत वैशाख १८ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित