काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले उपचुनावको परिणामले माओवादीलाई परिपक्व जनआधार सहितको मुख्य शक्तिको रुपमा स्थापित गरिदिएको टिप्पणी गरेका छन् । जनताले उपचुनावमा पार्टीका उम्मेदवारलाई दिएको मतले माओवादी मुख्य शक्तिको रुपमा स्थापित भएको दावी गरेका हुन् ।
चुनावी परिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद सापकोटाले माओवादीप्रति देशैभर जनलहर भएको बताएका छन् । दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएका थिए । जसमा कांग्रेस पहिलो हुँदा माओवादी दोस्राे, एमाले तेस्राे भएको छ ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा-१बाट विजयी भएका सांसद सापकोटाले उपचुनावले सबै दलहरुको यथार्थ धरातल स्पष्ट पारेको उल्लेख गर्दै शहर र मधेसमा माओवादीको भोट ग्राफ ह्वातै बढेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् –
” उपचुनावको अन्तिम नतिजा सार्वजनिक भई त्यसको सन्देशका बारेमा विभिन्न कोणवाट समिक्षा जारी छन् । यो उपचुनावलाई मिनि जनमत संग्रहकारुपमा समेत लिन सकिन्छ। जनमत चलायमान छ भन्ने मूल सन्देश मत परिणामले दिएको छ। सबै दलहरुको यथार्थ धरातल स्पष्ट पारेको छ। शहर र मधेसमा माओवादीको भोट ग्राफ ह्वातै बढेको छ। निर्वाचनको कोर्षमा माओवादीलाई परिपक्व जनआधार सहितको मुख्य शक्तिको रुपमा स्थापित गरिदिएको छ।
सबै माओवादी नेता/ कार्यकताहरु आ-आफ्नो फिल्डमा जमेर लाग्ने र जनता तर्फ फर्कदा मुख्य शक्तिको रुपमा परिणाम निकाल्न सकिन्छ भन्ने मनोवल प्रदान गरेको छ। सबैले संकल्प गरौं, समिक्षा सहित एकताबध्द भएर लागौं, निर्णायक र शक्तिशाली माओवादी निर्माणमा हामीलाई कसैले रोक्न सक्दैन ।देशैभर जनविश्वास देखियो।
निर्वाचित हुनुभएका सबै जनप्रतिनिधीहहलाई हार्दिक वधाई सहित सफल कार्यकालको शुभकामना छ । उपविजेताहरुलाई सहानुभूति सहित निरन्तर जनतासँग जोडिरहन सुझाव छ। जितेका ठाँउहरुमा नमातिएर परिणाममुखी काम गरौ,हारिएका ठाँऊमा ध्वंसात्मक बहस होइन यथार्थपरक समिक्षा सहित थप एकताबध्द भएर योजना निर्माण गरेर लाग्ने संकल्प गरौं।
धन्यवाद
१८ मंसिर २०८१”
