प्रचण्डलाई बोकेर अग्लो देखिन ओलीले पार्टी एकता गरे : माधव नेपाल

प्रचण्डलाई बोकेर अग्लो देखिन ओलीले पार्टी एकता गरे : माधव नेपाल

फरक पत्रिका

शनिबार, पौस २४ २०७८

प्रचण्डलाई बोकेर अग्लो देखिन ओलीले पार्टी एकता गरे : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफूलाई शक्तिमा पुर्याउनका लागि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग पार्टी एकता गरेको आरोप लगाएका छन्।

शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी खुसी भएका थियौँ एमाले र माओवादी मिल्दा वाम घटकहरु एक ठाउँमा आउने भए भनेर, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन हामीले धेरै भूमिका खेलेका थियौँ। एकतापछि जनताले झण्डै दुई तिहाइ बहुमत दिएका थिए। तर, ओलीको रणनीति त कमरेड प्रचण्डको टाउकोमा टेकेर आफूलाई सबैभन्दा अग्लो देखिन भन्ने सोच रहेछ।’

ओलीले सत्तामा पुग्नेको लागि प्रचण्डको पिठ्युँलाई सिँढीको रुपमा प्रयोग गरेको टिप्पणी गरे।

ओलीप्रति आरोप लगाउँदै अध्यक्ष नेपालले भने, ‘सत्तामा पुगेपछि ओलीले पार्टीलाई हेप्न थाले। बैठक बस्नै छाडे, आफ्नो नराम्रो कुरा आउँछ भनेर।’

एमालेको ९ औँ महाधिवेशनमा आफूलाई सहयोग नगरेर वामदेव गौतमले गल्ती गरेको कुरा अहिले महसुश गर्न थालेको नेपालले बताए।

‘अहिले ओलीलाई अध्यक्ष बनाउन धेरै सहयोग गरेका वामदेव गौतमले पनि औँला डढाएर तपाईंलाई सहयोग गरेर गल्ती गरेँ भनिसक्नु भएको छ।’उनले भने, जम्मा ३० भोटको फरक थियो। माधव नेपालको पक्षमा वामदेवजीले इसारा मात्रै गरिदिनु भएको भए मात्रै २ सय भोटले जित्नुहुन्थ्यो भन्ने कुरा अहिले महसुश गर्न थाल्नुभएको छ।’

नेतृत्व सहि भयो भने मात्रै पार्टी र देश समृद्धिको बाटोमा जाने उनको भनाइ छ। केपी ओलीले विदेशी शक्तिहरूलाई प्यारो ठानेर पार्टीका पुराना नेताहरुलाई वेवास्ता गरेको आरोप लगाए।

‘आफ्नै पार्टीका पुराना नेताहरु जसले ‘बा’ भन्दैनन्। उनलाई पुज्दैनन्। उनीहरुलाई आफ्नो ठान्दैनन्’ अध्यक्ष नेपालले भने, ‘ओलीमा दम्भ, अहंकार र व्यक्तिवाद सवार भएकै कारणले बालकोटको बार्दलीमा पुगेर भुक्नुपर्ने अवस्था आइपरेको छ।  कोही डाक्टर हुनुहुन्छ भने उपचार गर्दिनुस्।’

ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेर प्रधानमन्त्रीबाट बाहिरिन परेको पीडा व्यक्त गरेको आरोप लगाए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित