सीडीओ नै सन्किने गरी सिन्धुपाल्चोकमा यस्तो नागरिकता कस्ले सच्यायो ?

सीडीओ नै सन्किने गरी सिन्धुपाल्चोकमा यस्तो नागरिकता कस्ले सच्यायो ?

फरक पत्रिका

मंगलबार, चैत्र २० २०८०

सीडीओ नै सन्किने गरी सिन्धुपाल्चोकमा यस्तो नागरिकता कस्ले सच्यायो ?

चौतारा । वृद्धभत्ता पाउने नेपाली नागरिकको उमेर ६८ हो । तर ७० वर्ष पुगेका मेलम्ची ९ का नेत्रवहादुर खड्काले अहिले भत्ता पाउँदैनन् । उसोत यसअघि उनले दुई वर्षसम्म निरन्तर वृद्धभत्ता खाएकै हुन् । अहिले भने जिल्ला प्रशासन कार्यालयको त्रुटीका कारण भत्ता खानबाट वञ्चित हुनु परेको हो ।

आफ्नो साथमा भएको नागरिकता प्रमाणपत्र हराएपछि उनी प्रतिलिपी नागरिकता लिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक आइपुगे । सामान्य अक्षर पढ्न नजानेका उनले जस्तो नागरिकता प्रशासनले दियो,उस्तै बोकेर घर फर्किए । साविक झैं वडा कार्यालयमा पुगेर भत्ता खान भनी नागरिकता बुझाए । तर उनको भत्ता खाने उमेर नै पुगेन । पहिले ७० वर्ष उमेर पुगेको थियो । पछि प्रशासनले नागरिकताको प्रतिलिपी लिँदा १० वर्ष नै उमेर घटार्इदिएछ । खासमा उनको जन्म २०१० साल साउन १२ गते हो । मिति २०४२ साल ८ महिना १२ गते १८ वर्ष उमेर पुगेर जिल्ला प्रशासनले नै दिएको नागरिकता प्रमाणपत्र पाएका छन् ।

तर अहिले सोहि उमेर कायम गरेर भत्ता पाइसकेका खड्का प्रशासनका कर्मचारीको गल्तीले १० वर्ष उमेर घटाइएपछि वृद्धभत्ता पाउन वञ्चित भएका छन् । हालका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले सुशासनको बढी नै रटान लगाउन छाडेका छैनन् । उनले सोमबार मात्रै पनि प्रशासनको दैनिक सेवा प्रवाहबारे पत्रकारहरु बोलाएर ठुल्ठूला फुटानी दिए । कार्यालयमा कार्यरत आफ्ना कोही कसै कर्मचारीले बदमासी गरेमा नछाड्ने ठाउँका ठाउँ कारबाही गर्ने हुँकार पिटे ।

कतिपयले उमेर बढाएर भटाभट सरकारको वृद्धभत्ता खाइरहँदा साँच्चै तर उमेर पुगेका वृद्धले भने भत्ता खान नपाउँदा प्रशासनका कर्मचारीलाई कारबाही होला कि नहोला त्यो विषय आम नागरिकमा चासो बनेको छ । प्रजिअले काम छिटोछरितो गरेको,सेवा प्रवाह सरल बनाएको र सुशासन कायम गरेको फूर्ती लागएपनि सेवाग्राहीलाई कर्मचारीले पिरोल्न छाडेका छैनन् ।

खासमा पासपोर्ट फाँटका महेन्द्र पौडेल, नागरिकता फाँटका खोपनाथ नेपाल,कम्प्युटर अपरेटर विमल अधिकारी,कार्यालय सहयोगी लिलाप्रसाद चौलागाईबाट सेवाग्राही पीडित बन्ने गरेको गुनासो बढी छ। उनीहरुले घुस रकम नखाई कामै नगर्ने आम सेवाग्राहीको आरोप छ । उनीहरुलाई यसअघि कार्यरत कार्यरत प्रमुख जिल्ला अधिकारीहरुले सचेत गराउँदै कारबाही गर्ने चेतावनी पटकपटक दिएका थिए । तर कार्यरत फाँटमा फेरबदल गरेका भएपनि कारबाही नभएपछि काग कराउँदैछ,पीना सुक्दैछ भन्ने उखान चरितार्थ भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित