यी कलाकार जसलाई सिन्धुपाल्चोकवासीले आफ्नो माटोलाई माया गर्ने कलाकार भनेर चिन्छन् । गीत, संगीतमार्फत सिन्धुभूमिको प्रचार गरेर पर्यटन प्रर्वद्धनमा सघाएको भन्दै प्रेम गर्छन् ।
हुन पनि उनले जिल्लाको प्रचारका लागि संगीतबाटै विभिन्न पर्यटकीयस्थलहरुको चर्चा गरेका छन् । विभिन्न व्यवसायिक बजार, धार्मिकस्थलको नाम लिएका छन् । र, उनी सबैका प्रिय छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का स्थायी बासिन्दा घलेले पाँच वर्षअघि जय जन्मभूमि जय सिन्धुभूमि बोलको गीत बजारमा ल्याए । किशोर बुढाथोकीको शब्दमा प्रेमध्वज प्रधान र मिना सिंहको समेत स्वर रहेको यो गीत अहिले सिन्धुवासीको जिब्रोमा झुण्डिएको छ । त्यति मात्रै हैन जिल्लालाई चिनाउने ओखरेनी हावाले, जुगलको आंगन मेरो, ओ प्रिया, अरनिको सरर जस्ता धेरै गीत उनले बजारमा ल्याएका छन् । त्यसैले उनलाई माटोलाई माया गर्ने कलाकारका रुपमा दर्शक अनि स्रोताले चिन्ने गरेका हुन् । त्यसैले त उनी बारम्बार भन्छन् कि माटोले माग्दैन आफैंले दिनुपर्छ ।
झण्डै तीन दसकभन्दा अघिदेखि संगीत साधनामा तल्लीन चन्द्रसिंले यो सफलता उनले त्यत्तिकै पाएका हैनन् । संगीतमा लागेर जीवनका अनेकन घुम्तीमा आएका विभिन्न अवसरलाई त्याग गरेर लक्ष्यको गन्तब्य चुम्ने अभियानमा लागे । उनको जीवनमा संगीत यात्राको संघर्ष रोचक पनि छ । दुई दसकअघि यिनको एउटा एल्बम बजारमा आयो–‘लिरिस’ । सो एल्बमका गीतहरु रेकर्ड गराउन उनले निकै संघर्ष गर्नुप¥यो । आफ्नो लागि संगीत नसा भएकोले संगीत छाड्न मनले नमान्ने भएपछि जीवनलाई पूर्ण संगीतमै अर्पण गर्न चाहने उनको सफलताका लागि वाधक नै आर्थिक अभाव बन्यो । ‘पैसा नहुँदा भातसँग नुन र खुर्सानी खाएर सुतेको दिन अझै ताजै छ,’ उनी भन्छन्, ‘एल्वम रिलिज गर्नका लागि आफूसँग भएका सामग्रीहरु ड्रमसेट, गिटार, एम्लीफायर बेचियो ।’
पैसाको अभावका कारण राम्रा प्रतिभाहरु ओझेलमा पर्ने गरेको यथार्थलाई स्वीकार्दै उनी प्रचारप्रसार विना केही नहुने बताउँछन् । आर्थिक अभावका कारण प्रोमो बजाउन नपाउँदा आफ्नो गीत स्रोता माझ नपुगेकाले आफू पछाडि परेको उनको दाबी छ । संगीतलाई आफ्नो जीवन मान्ने घले संगीतका लागि आफ्नो जीवन आहुति दिन पनि पछि नहट्ने बताउँछन् ।
विहान ब्युँझनु अघि जव उनका हात हार्मोनियमका ‘कि’हरुमा सल्बलाउन थाल्छन् तव सिङ्गो वातावरण संगीतमय बन्छ, र, सिङ्गो चौतारा त्यसपल संगीतमा चुर्लुम्मै डुबेको हुन्छ । जिल्लामा यिनी संगीत क्षेत्रका विलक्षण प्रतिभा हुन् । अब्वलदर्जाका गायक हुन्, संगीतकार हुन् । तर पनि छाँयामा छन् ।
२०३७ सालमा माता सुकु घले र पिता अम्वरबहादुर घलेको पहिलो सन्तानको रुपमा जन्मिएका उनले तीन दर्जन अधिक गीतहरु रेकर्ड गराइसकेका छन् । अमित घिमिरेको शब्द रहेको ‘खेल यो बन्दुक वारुदको अति भो’ उनको पहिलो रेकर्डिङ गीत हो ।
आफूलाई भन्दा बढी माया संगीतलाई गर्ने उनी संगीत मन छुने खालको हुनुपर्ने बताउँछन् । संगीतले मन छोएन भने त्यसको अर्थ नरहने बताउँछन् उनी ।
संगीतका लागि मेहनत गर्न नछोड्ने घलेको सोच छ आफू स्थापित भएमा जिल्लामा संगीत पाठशाला र रेकर्डिङ स्टुडियो आफैले सञ्चालन गर्ने ।