सिन्धुपाल्चोक । कुनै समय थियो दसैंको माहोल सुरु नहुँदै पनि सिन्धुपाल्चोकका प्रमुख व्यापारिक बजारहरु बाह्रविसे, खाडिचौर, तातोपानीमा मेला लागेजस्तै घुइँचो हुन्थ्यो मान्छेका । व्यापारीहरुलाई सामान विक्री गर्न भ्याइनभ्याई हुने अवस्था थियो । तर, यो वर्ष दसैं मुखमै आइपुग्दासमेत यी बजारका व्यापारीहरु उही पुराना दिन सम्झेर समय बिताउन बाध्य छन् । व्यापार ठप्पप्राय छ ।
यसको एउटै कारण हो तातोपानी नाकाबाट हुने कारोबार बन्द हुनु ।
नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित मात्र भएको छैन, यसको प्रत्यक्ष असरस्थानीय बजारमा समेत परेको हो ।
यो समयमा पहिले सामान खरिद गर्नेको संख्या निकै बाक्लो हुने गरेको सम्झँदै बाह्रविसेका व्यवसायी राजेन्द्र श्रेष्ठले अहिले बजार सुनसान बनेका कारण व्यापार ठप्प भएको बताए । उनकाअनुसार पहिले व्लांकेट, थर्मस, कपडा, इलेक्टोनिक सामग्रीको राम्रो व्यापार हुने गरेकामा यो वर्ष ठप्प भएको छ । नाका सञ्चालन नभएकै कारण व्यवसायीले यस्तो भोग्नुपरेको उले सुनाए ।
ग्राहक र यात्रुको चहलपहल घटेसँगै होटल, कपडा पसल र भाँडाकुँडा पसलको कारोबार सुस्ताएको छ भने दशैंको मुखमा हुने व्यापारसमेत प्रभावित भएको छ ।
तातोपानी नाका सञ्चालनमा रहँदा यसअघि चिनियाँ सामान खरिद गर्न आउने व्यापारी, चालक, मजदुर तथा यात्रुको चहलपहलले लिपिङ, तातोपानी, बाह्रबिसे हुँदै खाडीचौरसम्मका बजार चलायमान हुने गरेका थिए । तर, दशैंका लागि नयाँ कपडा, घरायसी सामग्री तथा अन्य उपभोग्य वस्तुको बिक्री बढ्ने समय भए पनि नाका बन्द हुँदा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको छ ।
नाका बन्द हुँदा व्यवसाय नै प्रभावित भएपछि भोटेकोशी गाउँपालिकाले नाका सञ्चालनका लागि पहल भइरहेको जनाएको छ । गाउँपालिकाका अनुसार सीमावर्ती क्षेत्रका व्यवसायी तथा स्थानीयको दैनिकीसमेत नाका सञ्चालनसँग जोडिएकाले सम्बन्धित निकायसँग समन्वय गरी नाका खुलाउन आवश्यक पहल भइरहेको छ ।
स्थानीय व्यवसायीका लागि तातोपानी नाका चीनसँगको व्यापारिक प्रवेशद्वार मात्र नभइ रोजगारी र आम्दानीको मुख्य आधारसमेत हो । दशैंको मुखमा नाका लामो समय बन्द रहँदा सीमावर्ती बजार हुँदै खाडीचौरसम्मका व्यवसायमा प्रत्यक्ष असर परेको छ । दशैंमा व्यापार बढ्ने अपेक्षा गरेका व्यवसायी नाका बन्द हुँदा निराश बनेका छन् ।