रास्वपाको प्रवक्तामा रविको नजर सिन्धुपाल्चोकका प्रमोदतिर !

रास्वपाको प्रवक्तामा रविको नजर सिन्धुपाल्चोकका प्रमोदतिर !

फरक पत्रिका

बिहिबार, असार १८ २०८३

रास्वपाको प्रवक्तामा रविको नजर सिन्धुपाल्चोकका प्रमोदतिर !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापतिसहित ९९ केन्द्रीय सदस्य निर्वाचित भए । प्रत्यक्षतर्फका ६ जना पदाधिकारी पनि चुनिइसकेका छन्।
विधानअनुसार हुनुपर्ने केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन । अब वरिष्ठ नेतासहित ११ जना पदाधिकारी, ३१ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य थपिन बाँकी छ । उसो त महाधिवेशन गर्नुअगाडि नै मनोनित गर्ने विषयमा सभापतिलाई पूर्ण अधिकार दिइसकिएको छ । यसअर्थमा सभापति रवि लामिछाने मनोनित गर्ने ठाउँमा बलियो छन् । त्यसैले उनले जसलाई इच्छा लाग्छ उसैलाई मनोनित गर्न सक्ने अवस्था छ । सभापतिमाथि शक्ति छ, एकल निर्णय गर्ने अधिकार छ ।
प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेता बन्ने निश्चित छ। त्यसबाहेक उपसभापति, महामन्त्री, सहमहामन्त्री र प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष कसलाई बनाइन्छ, रास्वपाभित्रै पनि चासोको विषय बनेको छ ।
चितवनको भरतपुरमा असार ७ देखि १२ सम्म महाधिवेशन चलेको थियो । जसमा २ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री निर्वाचित भइसकेका छन्। बाँकी पदमा को मनोजित हुन्छन् भन्ने जिज्ञासा छ ।
रास्वपामा अर्को प्रभावशाली मानिने पद प्रवक्ता हो । रास्वपामा मात्रै नभई यो पद पनि अन्य पार्टीमा प्रभावशाली हो । त्यसै पनि रवि आफ्ना विश्वासपात्रलाई प्रवक्ता बनाउने योजनामा रहेको एक पदाधिकारीले बताए । उसो त मनिष झाले महामन्त्रीमा चुनाव लडेर विपिन आचार्यसँग पराजित भएपछि प्रवक्ता नबस्ने घोषणा गरिसकेका छन् । यस्तो हुँदा रविको नजर सिन्धुपाल्चोक ठोकर्पाका प्रमोद न्यौपानेतिर रहेको ती पदाधिकारीले संकेत गरे ।
प्रमोद पनि पत्रकारिताबाट राजनीतिमा हाम फालेका व्यक्ति हुन् । सभापति लामिछानेका सहकर्मी रहेका न्यौपाने रविका नजिकका विश्वास पात्र हुन् । स्मरणरहोस् रवि सहकर्मीको आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतबाट निस्कँदा चितवनमा आयोजित विशाल खुल्ला सभालाई उनै न्यौपानेले सहजीकरण गरेका थिए ।
सिन्धुपाल्चोकका न्यौपानेले रविलाई पछिल्ला दुई वर्ष दर्बिलो साथ दिएका छन्। उनी सांसद पनि छैनन्। समानुपातिकतर्फबाट सांसद बन्ने सूचीमा हुँदा पनि उनी अन्य समूहलाई मिलाउनुपर्दा परेका थिएनन्।
त्यही भएर रविले यसपटक उनलाई जिम्मेवारी दिने सम्भावना रहेको अर्का पदाधिकारीले बताए। प्रमोद चितवन महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। महामन्त्रीको उम्मेदवारी दिएर पछि फिर्ता लिई उनले विपिन आचार्यलाई सहयोग गरेका थिए।
‘प्रवक्तामा प्रमोद न्यौपानेलाई ल्याउन सक्ने देखिन्छ,’ ती पदाधिकारीले भने, ‘हामीले जिम्मेवारी दिनुपर्ने व्यक्ति हो। फेरि प्रवक्ता र कोषाध्यक्ष सभापतिको विश्वासपात्रलाई नै बनाउने भनेर हामीले यसअघि नै एक किसिमले समझदारी बनाइसकेका छौँ।’
रास्वपाको विधानअनुसार एक प्रवक्ता रहन्छन्। यस्तै ३ जना सहप्रवक्ता रहन्छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित