काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकका एकसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ बस्ने सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका ४ बस्ने रामेछाप घर भएका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका १६ बस्ने धादिङ घर भएकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका ८ बस्ने ४१ वर्षीय रामदास महर्जन र काठमाडौं महानगरपालिका १५ बस्ने २९ वर्षीय सरिब गिरी रहेका छन् ।
पक्राउ मध्ये वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, ललित बहादुरले कोसोभो पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिएका थिए । त्यस्तै सन्तोषीले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ, रामदासले युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ४५ लाख रूपैयाँ र सरिबले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
वाङ्दीलाई काठमाडौं महानगरपालिका ४ बाट आइतबार पक्राउ गरेको थियो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।