बढ्दो वायु प्रदूषण:सावधानी नपनाए लाग्नसक्छ यस्ता जटिल रोग

बढ्दो वायु प्रदूषण:सावधानी नपनाए लाग्नसक्छ यस्ता जटिल रोग

फरक पत्रिका

मंगलबार, फाल्गुन २६ २०८२

बढ्दो वायु प्रदूषण:सावधानी नपनाए लाग्नसक्छ यस्ता जटिल रोग

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सतर्कता अपनाउन आमनागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, काठमाडौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५)को मात्रा निकै बढेको छ । श्वासप्रश्वास र छालाका माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म र हानिकारक कणले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उनले बताए ।

प्रदूषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगी उच्च जोखिममा रहेकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

“यसले सामान्य आँखा दुख्ने, पाक्ने र दृष्टिमै नोक्सान पुर्‍याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सर समेत गराउन सक्छ,” प्रवक्ता डा. बुढाथोकीले भने ।

बिहान र बेलुका बाहिर ननिस्कन सुझाव
प्रदूषणबाट जोगिन मन्त्रालयले विशेष गरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ । बिहान र साँझको समयमा हानिकारक कीटाणु र कण वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको हो ।

बाहिर निस्कनैपर्ने अवस्थामा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाउन मन्त्रालयले सुझाएको छ ।

समन्वय गर्दै स्वास्थ्य मन्त्रालय
वायु प्रदूषण न्यूनीकरणका निम्ति स्वास्थ्य मन्त्रालयले अरू सरोकारवाला मन्त्रालयसँग पनि समन्वय र पैरवी गरिरहेको जनाएको छ । प्रवक्ता बुढाथोकीका अनुसार, उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन र वातावरण मन्त्रालयसँग प्रदूषण कम गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ ।

सवारीसाधनको धुवाँ, कलकारखाना, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर र प्लास्टिक जलाउने कार्य तथा वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण निर्मूल नहुने भन्दै मन्त्रालयले यस्ता कार्य रोक्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।

तत्कालका निम्ति भने प्रदूषणको प्रत्यक्ष असरबाट बच्न शरीरलाई सुरक्षित राख्नु नै उत्तम विकल्प भएको मन्त्रालयको भनाइ छ । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित