सिन्धुपाल्चोक । उनको योजना छ, सपना छ, अनि लक्ष्य छ कि सिन्धुपाल्चोक एउटा यस्तो नमूना गन्तव्य जिल्ला हुनेछ जुन विश्वमै उदाहरणीय कहलियोस्– स्पष्ट नीतिमार्फत सिन्धुपाल्चोकमा विकासले गति लिएको पाठ युरोपलगायतका विद्यालयमा पढाइयोस्, कृषि अनि पर्यटनबाट स्थानीयवासी अर्थतन्त्रमा अब्बल भएको कथा पढाइयोस्, अनि पढाइयोस् सिन्धुपाल्चोक स्वास्थ्य र शिक्षाबाट समृद्ध भएको कहानी ।
पर्यटकीय गाउँ, उत्कृष्ट शैक्षिक हब, विकासमा अग्रणी, स्वास्थ्यमा अब्बल, गाउँमै रोजगार । स्थानीयवासी कृषिबाटै आत्मनिर्भर ।
यो यत्तिकै सम्भव छैन जसका लागि उत्कृष्ट ‘भिजन’सहित कार्यान्वयन गर्नसक्ने अभियन्ता चाहिन्छ । र, त सिन्धुपाल्चोकलाई समृद्ध बनाउन उनी आफैँ अघि सरेका छन् । त्यसैले त आफ्नो सपना, योजना अनि लक्ष्य पूरा गर्न अभियन्ता भएर चुनावी मैदानमा उत्रिएका छन् सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका वंशलाल तामाङ ।
उनी आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसको रुख चिह्न लिएर चुनावी मैदानमा ओर्लिएका हुन् ।
वंशलाल लामो समयदेखि राजनीति र समाजसेवामा समर्पित छन् । एक कार्यकाल उनी इन्द्रावती गाउँपालिकाको अध्यक्ष भएर विकासको दौडमा प्रथम भइसकेका छन् । अध्यक्षको अनुभव बटुलेका उनी फेरि एकपटक चुनावी दौडमा छन् प्रतिनिधि सभा सदस्यका लागि ।
उसो त एक कार्यकाल गाउँपालिकाको अध्यक्ष भएर आफ्नो स्थानीय तहमा विकास नगरेका हैनन् वंशलालले । तर, त्यतिले मात्रै उनको योजना अनि सपना पूरा भएनन् त्यसैले फेरि एकचोटी उनी जनताका ‘लिडर’ बन्न चाहन्छन् र समृद्ध सिन्धुपाल्चोक निर्माणको लडाइँमा अगुवा बन्न चाहन्छन् जनताको प्रतिनिधि भएर ।
जिल्लाको विकास निर्माणमा सक्रिय रही नागरिकहरूको समस्या, पिरमर्कामा साथ दिई जिल्लावासीको जीवनस्तर उकास्ने उनको लक्ष्य छ । भू–बनोटको हिसाबले जिल्लाका विकट गाउँहरूमा पुग्न नसकेका सेवाहरू विस्तार गर्ने उनको अर्को योजना हो ।
‘भौगोलिक रुपले जिल्ला निकै ठूलो छ, गाउँवासीको आवश्यकता पहिचान गरेर सेवाप्रवाह गर्न चुनौती छ,’ उनले फरकपत्रिकासँग भने, ‘र, पनि योजनाहरू बनेका छन्, जनतालाई देउता सम्झेर उहाँहरुकै पाइला पछ्याउँदै अघिल्ला सांसदहरु चुकेका कामहरूलाई निरन्तरता दिनेछु ।’
उनी अहिले चुनावी अभियान लिएर मतदाताको आँगनमा व्यस्त छन् । यो क्रममा उनले गाउँको समस्यालाई ‘नोट’ गरेका छन् । यसले उनलाई पछि काम गर्नमा सहज बनाउने छ । अभियानकै क्रममा उनी विभिन्न अजेन्डा लिएर गाउँ पसेका छन् । उनले हरेक वस्तीलाई नियालेर चुनावी अजेन्डा बनाएको दाबी गर्छन् ।
विकासको पहिलो खुड्किलो शिक्षा भएकाले उनले चुनावी प्रतिबद्धतापत्रमा नै उल्लेख गरेका छन्, ‘सरकारी विद्यालयको गुणस्तर सुधारका साथै गरीब, दलित, जनजाति र महिला र अपांगमैत्री छात्रवृत्ति ।’ एक स्थानीय तह एक प्राविधिक विद्यालय स्थापना गरी अध्ययनसँगै सीप विकास र अमाउन सक्ने वातावरण सिर्जना गर्ने उनको अर्काे योजना हो । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाका लागि नीति निर्माणमा भूमिका खेल्नेछौं।’ उनले भनेका छन् ।
गाउँको विकासका लागि अहोरात्र खट्ने वंशलालले गाउँपालिका अध्यक्ष हुँदा सोचेअनुरूप काम गर्न नपाएकाले अहिले फेरि प्रतिनिधिसभाका लागि उम्मेदवार बनेको जनाए । त्यसैले त अहिले उनी अबको पाँच वर्षमा गरिसक्ने अजेन्डा लिएर चुनावी प्रचारमा छन् । उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार रोजगारी, कृषि, पर्यटनलाई मुख्य आधार बनाएको बताए ।
सिन्धुपाल्चोक कृषिका लागि लागि प्रचुर सम्भावनायुक्त क्षेत्र भएकाले हामीले गर्ने विकास, लागु गर्ने कार्यक्रम कृषि र कृषकमैत्री हुनुपर्ने भन्दै किसानको समस्यालाई सम्बोधन गर्न उनी लागिरहेका छन् । सहज र सुलभ ऋण, लगानीको वातावरण, सिँचाइको व्यवस्था, उत्पादनको व्यवस्थित संकलन, भण्डारण र उचित बजारिकरणका लागि स्पष्ट योजना सहितको संकल्प लिएको उनले बताएका छन् ।
आधुनिक कृषि उपकरणमा अनुदान ९ट्र्याक्टर, हार्भेस्टर, ड्रिप सिँचाइ०को व्यवस्था, उन्नत बीउ, मल र प्रविधिको सहज उपलब्धता, सिँचाइ विस्तार ९साना–मझौला सिंचाइ आयोजना०लाई प्राथिमिकतामा राखेर उनले किसानलाई आर्थिक रुपमा अब्बल बनाउने नीति अघि सारेका छन् ।
स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधालाई व्यवस्थित बनाई जनस्तरमा सुविधाहरू बृद्धि गर्ने लक्ष्य राखेको उनले सुनाए ।
त्यस्तै पूर्वाधार विकासतर्फ मुख्य र सहहायक सडक स्तरोन्नति गरी हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याबाट मुक्ति दिलाउने उनको प्राथमिकतामा पर्छ । पुल निर्माण, सिंचाई कुलोसहित हरेक घरमा सुरक्षित खानेपानी र सरसफाईलाई प्रमुख मुद्धा बनाएर नीति निर्माण गरि कार्यान्वयन गराउने पक्षमा छन् उनी ।
भ्रष्टाचारमा शून्य सहनशीलता, सरकारी सेवा प्रवाहलाई डिजिटलाइज गरी छिटो र सरल बनाउने नीति निर्माणमा जुट्ने उनले बताए । अहिलेका जनप्रतिनिधिमा गुनासो सुन्ने प्रवृत्ति नभएकाले आफूले त्यसलाई प्राथमिकतामा राखेर समाधान खोज्नतर्फ लाग्ने उनको भनाई छ ।
कृषकका लागि अत्यावश्यक मल, बिउबिजन र कृषि औजारको अभावको अन्त्य गरी सहज र सुलभ मूल्यमा उपलब्ध गराउनेदेखि किसानलाई दुधमा अनुदान बढाउनेसमेत उनको लक्ष्य छ ।
जिल्लाको पर्यटकीय स्थानहरूको सुधार गरी होमस्टे सञ्चालन गरी गाउँवासीलाई आत्मनिर्भर बनाउने उनको योजना छ ।
इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनले अभाव देखिएका ठाउँलाई प्राथमिकतामा राखे । सडक पूर्वाधार, सिंचाई, नदी नियन्त्रण तथा भूसंरक्षण, खेलकुद, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन प्रर्वद्धन तथा सम्पदा विकासमा काम गरे । जसकारण पाँच वर्षअघि अभाव झेलेका गाउँवासी लावान्वित भएका छन् ।