सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु कोण सभा र मतदाता भेटघाटमा व्यस्त छन् । सिन्धुपाल्चोक क्षेत्र नं १ मा पनि अन्यमा झैं चुनावी चहलपहल तीव्र बनेको छ । यहाँ प्रमुख चार दलबीच चुनावी भीडन्त हुने आँकलन गरिएको छ ।
१८ जनाले उम्मेदवारी दिएका छन् यो क्षेत्रमा विशेषगरी नेपाली कांग्रेसका जंगबहादुर लामा, नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटा, नेकपा एमालेका सरेश नेपाल र रास्वपाका भरत पराजुलीबीच चुनावी प्रतिष्पर्धा हुने अनुमान गरिएको हो ।
यसै क्रममा नेकपा एमालेका उम्मेदवार सरेश नेपालले आज (बुधबार) बलेफी गाउँपालिकाको विञ्जेलबाट घर दैलो सुरु गरे । विञ्जेल सकेर करिब साढे ८ बजे मगरगाउँ पुगेका उनले त्यहाँका मतदातासामू मत मात्रै मागेनन् त्यहाँको समस्याबारे पनि जानकारी लिए । अनि समाधानका लागि आफू प्रतिबद्ध रहेको सुनाए ।

त्यसपछि धुस्कोट पुगेका उनी लगत्तै फुल्पिङका गाउँ घुमे । विञ्जेलमा मायानाथ नेपालले उनलाई आफ्नो भोट पक्का दिने विश्वास दिलाए । त्यस्तै धुस्कोटका इन्द्र श्रेष्ठले ३१ वर्षसम्म एमालेको प्रतिनिधि केन्द्रमा पुर्याउन नसकेके भन्दै यसपालि जिताउन लाग्ने बताए ।
आज जुगलको जलवीर र कात्तिके पुग्ने कार्यक्रम रहेको एमाले नेता चरिबहादुर तामाङले जानकारी दिए । उनकाअनुसार एमालेले सिन्धुपाल्चोक १ मा सुनकोशी, लिसंखुपाखर, चौतारा साँगाचोकगढी र बलेफीमा घरदैलो गरिसकेको छ ।