काठमाडाैँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । सो सूचीमा सिन्धुपाल्चोकका एक जना उम्मेदवारको समेत नाम रहेको छ ।
साेमबार आयाेगले प्रेस विज्ञप्ति जारी गर्दै ७६ जनाको नाम हटाइएकाे जानकारी दिएकाे हाे । आयोगले सार्वजनिक गरेकाे सूचनाअनुसार बन्दसूचीमा परेकाे सिन्धुपाल्चोककी लक्ष्मी श्रेष्ठको नाम हटाइएको छ । उनको ठेगाना चौतारा सांगाचाेकगढी नगरपालिका-५ रहेकाे हटाइएको सूचीमा उल्लेख छ ।
नागरिक शक्ति नेपाल नामक दलबाट समानुपातिक सूचीमा परेकी उनी आदिवासी क्लस्टरबाट बन्द सूचीमा थिइन् ।
आयोगकाअनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका कारण उनको नाम हटाइएको हो कर्जा सूचना केन्द्रकाे कालाे सूचीमा परेकासहित प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका,निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका,पच्चीस वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।