हेटौँडा। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ।बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिएको हो ।
यो निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धुपाल्चोक कुविण्डेका प्रेम सापकोटाले उम्मेदवारी दिएका छन् ।
बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका ६ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको बामगती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन् ।
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
महिला क्लस्टरतर्फ नेपाली कांग्रेसबाट गीता देवकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीबाट कविता महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेका प्रेमप्रसाद दङ्गाल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रेम सापकोटा र नेपाल मजदुर किसान पार्टीबाट विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन्। ती उम्मेदवारहरुलाई सम्बन्धित दलकै चुनाव चिह्न प्रदान गरिएको हो ।