चौताराले निःशुल्क बाँड्यो ४३ किसानलाई कफीका बिरुवा

चौताराले निःशुल्क बाँड्यो ४३ किसानलाई कफीका बिरुवा

फरक पत्रिका

मंगलबार, असार २४ २०८२

चौताराले निःशुल्क बाँड्यो ४३ किसानलाई कफीका बिरुवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ कि भद्रकुमारी घलेको जुठ्यानमै कफीबोट बोट उम्रियो अनि फल पनि दिन थाल्यो । उनले कफी आफैंले भुटेर खान्थिन् । केही समयपछि एक व्यक्ति आएर उनको जुठ्यानमा फलेको कफी थोरै पैसामा किनेर लैजान थाले । यो खबर चौतारामा रहेको अरनिको कृषि फार्मले सुनेपछि घलेको कफी उनले पाउँदै आएको भन्दा दोब्बर मूल्यमा किन्न थाल्यो ।
उनी अहिले हौसिएकी छिन् । र, त कफी खेती विस्तारमा जुटेकी छिन् । मंगलबार अरनिको कृषि फार्ममा उत्पादित र चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा थप कफीका बोट लगेकी छन् । कफीबाट राम्रो आम्दानी हुने अनुभव भएपछि थप विस्तारमा लागेको उनले सुनाइन् । ‘कफीको व्यवसायिक खेती सोच आएपछि विस्तारमा लागेको छु,’ उनले भनिन्, ‘यसबाट राम्रो आम्दानी हुने भएपछि धान, मकैको ठाउँमा कफीको बोट लगाउने सोच छ ।’

उनीजस्तै चौतारा साँगाचोकगढी नगरपालिका १२ की कल्पना रानामगरले पनि नगरले वितरण गरेको कफीको विरुवा लगिन् । यसअघि नै एक सय बोट कफीको विरुवा रोपेकी उनले उत्पादनबाट आम्दानीसमेत गर्दै आइरहेकी छिन् । कफीको विरुवा लिन आउँदा उनले आफ्नो बोटमा फलेको कफीसमेत विक्रीका लागि ल्याएकी थिइन् । ‘सन्तोषजनक रुपमा उत्पादन दिइरहेको छ, बजार पनि भएकाले कफी खेती थप विस्तारमा लागेको छु ।’ उनले भनिन्, ‘किसानका लागि नगरपालिकाले यसरी निःशुल्क विरुवा वितरण गरेकाले म आफैं हौसिएको छु ।’ उनले अब कफी खेती गर्ने किसानलाई हौस्याउनका लागि नगरपालिकाले थप प्राविधिक सहयोगसमेत गर्नुपर्ने बताइन् ।

रानामगरले कफी उत्पादनपछि विक्री गर्न थालेको तीन वर्ष भयो । जिल्लामा उत्पालित कफी अरनिको कृषि फार्मले नै खरिद गर्ने गरेकाले बजारको समस्या नभएको उनले सुनाइन् । पल्पर मेसिन भएदेखि गाउँमा रहेका कफीहरु संकलन गरेको थप व्यवसाियक बन्ने उनको चाहना छ ।

नगरपालिकाले मंगलबार घले र रानामगरजस्तै ४३ किसानलाई निःशुल्क कफीको विरुवा वितरण गरेको हो । अरनिको कृषि फार्मको समन्वयमा एक हजार पाँच सय वटा विरुवा वितरण गरिएको हो । नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले किसानहरुलाई कफीका विरुवा हस्तान्तरण गरे । नगरपालिकाका १४ वटै वडाका किसानलाई विरुवा वितरण गरिएको हो ।
विरुवा हस्तान्तरणपछि सापकोटाले कफी खेतीलाई नगरवासीले विस्तार गरे आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए । नगरपालिका यो खेतीलाई नगदेबालीका रुपमा अघि बढाउन तयार रहेको बताउँदै किसानका लागि आम्दानीको स्रोत बढाउन आफू सकारात्मक भएको सुनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित