सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ५ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । ‘बालबालिकामा गरेको लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले वडालाई औपचारिक रूपमा बालमैत्री घोषणा गरे ।
दाबी छ कि-विद्यालय उमेरका सबै बालबालिका विद्यालय भर्ना भएका छन्, बालविवाह तथा बालश्रम पूर्ण रूपमा अन्त्य गरिएको छ, सबै बालबालिकाले खोप पाएका छन्, र बालमैत्री पूर्वाधारको व्यवस्था गरिएका छन् । यति मात्रै हैन वडाले यी लगायत ५१ वटा सूचक मध्ये अधिकांश सूचकमा अपेक्षित मापदण्ड पुरा गरेका जनाएके छ । यसैकारण शुक्रबार वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडाले २०७९ साल पुस १६ गतेदेखि बालमैत्री घोषणाका लागि पाँच चरणको २८ वटा तहगत कार्यसूची निर्माण गरी सघन कार्यान्वयन सुरु गरेको थियो ।
हाल वडामा १८ वर्षमुनिका ८ सय ८६ जना बालबालिका रहेका छन्। पालिकाभर १२ वटा बाल समूह, एक वटा सञ्जाल तथा विभिन्न संरचनागत समितिमा २ सय ३९ जना बालबालिकाको सक्रिय सहभागिता रहेको वडाले जनाएको छ।
पूर्ण खोप, खुल्ला दिसामुक्त र पूर्ण साक्षरता घोषणा भइसकेको यस वडाले, नेपाल सरकारद्वारा तोकिएको ५१ वटा सूचक मध्ये ३८ वटा सूचकमा सय प्रतिशत र १३ वटा सूचकमा ९५ देखि ९७ प्रतिशतसम्मको उपलब्धि हासिल गरेको वडा अध्यक्ष यादव ठकुरीको भनाइ छ।
यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–१३ नम्बर वडा पहिलोपटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो। त्यस्तै सो नगरपालिकाको वडा नम्बर ७ र मेलम्ची नगरपालिका–७ दुवाचौर समेत बालमैत्री वडाको रूपमा पहिचान भइसकेका छन्।