हेलम्बुमा नागरिकलाई उपचार, कर्मचारीलाई बीमा, किसानलाई अनुदान, विद्यार्थीलाई डिजिटल शिक्षा

हेलम्बुमा नागरिकलाई उपचार, कर्मचारीलाई बीमा, किसानलाई अनुदान, विद्यार्थीलाई डिजिटल शिक्षा

फरक पत्रिका

बुधबार, असार ११ २०८२

हेलम्बुमा नागरिकलाई उपचार, कर्मचारीलाई बीमा, किसानलाई अनुदान, विद्यार्थीलाई डिजिटल शिक्षा

हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२,८३ को लागि नमूना गाउँपालिका निर्माण भन्ने संकल्पसहित बृहत्तर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँसभाको बैठकमा हेलम्बु गाउँपालिका १ का वडाअध्यक्ष एवंम आर्थिक बिकास समितिका संयोजक दावा ग्याल्जेन लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नीति तथा कार्यक्रममा नागरिकलाई उपचार खर्चदेखि काठमाडौं लगिएको मेलम्ची पानीको हिस्सा माग्ने नीतिशरु छन् । गाउँपालिकाले हरेक नागरिकलाई गम्भीर रोगको अवस्था आउँदा “लागत साझेदार प्रणाली” अन्तर्गत ५ लाखसम्मको उपचार खर्च सहयोग गर्ने योजना ल्याएको छ। यो कार्यान्वयनका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
कार्यालयदेखि विद्यालयसम्म डिजिटल सेवा विस्तार गरिने, घर नम्बर, जनसंख्या, योजना लगायतको डेटा एकीकृत डिजिटल प्रणालीमा सुरक्षित राखिने नीतिलाई गाउँपालिकाले अगाडि ल्याएको छ । कक्षा ८ देखि १२ सम्म सबै कक्षामा स्मार्ट बोर्ड र अन्य डिजिटल सामग्रीहरू उपलब्ध गराइनेछ।

दिर्घरोगीका लागि निःशुल्क औषधि र एम्बुलेन्स सेवा, जनप्रतिनिधि, कर्मचारी, शिक्षक सबैलाई समेट्दै ६ लाख बराबरको स्वास्थ्य बीमाको योजना ल्याइएको छ।
काठमाडौं उपत्यकामा लैजाने पानीको मूल्यमा २५ प्रतिशत हिस्सा हेलम्बु गाउँपालिकालाई उपलब्ध गराउन सरकारलाई दवाब दिइने नीतिसमेत गाउँपालिकाले अघि सारेको छ ।
२ करोड ५० लाख बजेटसहित नमूना कृषि फार्मः च्याउ, आलु, फलफूल र पशुपालनको आधुनिक प्रविधिसहित आत्मनिर्भर कृषि प्रणाली विकास गरिनेछ। तल्लो भेगमा रु २६० र माथिल्लो भेगमा रु ३१० को दरले मल अनुदानमा उपलब्ध गराइनेछ।

हेलम्बु बोद्धिसत्व मोडल स्कुललाई शैक्षिक स्रोत केन्द्रको रूपमा विकास गरिने छ। कम्प्युटर, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग अध्ययन हुने वातावरण तयार पारिनेछ।
पाँच वटा आवासीय सुविधा सहितका नमूना विद्यालय स्थापनाको तयारी गरिएको जनाउँदै विपन्न र जेहेन्दार विद्यार्थीलाई विदेशमा एमबिबिएस पढ्न छात्रवृत्रि दिइने योजना पनि समावेश गरिएको छ ।

हिमाल क्षेत्रको संवेदनशीलता हेरेर जलवायु असर न्यूनीकरण, पुनर्निर्माण र अनुकुलनमा काम गरिनेछ। छ्यादी यो गाङ (४६०० मि.उचाइ) मा अन्तरक्रियात्मक सम्मेलन आयोजना गरिनेछ।
हेलम्बु हिमालयन ग्रेटट्रेलमा निर्माणाधीन पदमार्गलाई तीव्रता दिइनेछ। सम्भोटा भाषा र संस्कृत भाषाको संरक्षणः शिक्षण संस्थामा यी भाषालाई प्राथमिकता दिइने र शिक्षकलाई प्रोत्साहनस्वरूप २० हजार मासिक पारिश्रमिक दिइनेछ।
गर्भवती महिलालाई १० हजार सहायता गरिने तर यदि मद्यपान तथा धूमपान नगरेको प्रमाणित भएमा मात्रै सहायता गरिने गाउँपालिकाले जनाएको छ ।
प्लास्टिक बहिष्कार गरि कार्यालयहरूमा तामाका भाँडाको अनिवार्य प्रयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित