चितुवा आतंक : घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी

चितुवा आतंक : घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी

फरक पत्रिका

बुधबार, साउन ९ २०८१

चितुवा आतंक : घरबाहिर निस्कन डराउँछन् टीकापुरवासी

टीकापुर । टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्।

केही दिनअघि वडा नं ८ फाटाका २२ वर्षीय अरविन चौधरीलाई चितुवाले आक्रमण गर्‍यो। उनको शरीरमा घाउ लागेको छ । यद्यपि उनी खतरामुक्त छन्।

उपचारपछि उनी तंग्रिएका चार महिनादेखि राति बस्तीमा आउने चितुवाले भैँसी, बाख्रा, बङ्गुर र कुकुर मारेको छ।

चितुवाको डरले राति घरबाहिर निस्कने आँट कसैको छैन।

‘राति शौचालय जान निस्केको थिए, नजिकै चितुवा देखेँ, अनि घरभित्र दौडिएँ,’ टीकापुर–७ का शिवम चौधरीले भने, ‘त्यस दिनदेखि अँध्यारो भइसकेपछि बाहिर निस्कन डर लाग्छ । खाना खाइसकेपछि सरसफाइको काम पनि राति गर्दैनौँ।’

गाउँमा जङ्गली जनावरको जोखिम बढेपछि वन सबडिभिजन कार्यालयको सहयोगमा सत्ती कर्णाली सामुदायिक वनको तीन सय मिटर क्षेत्रमा तारजाली लगाइएको र अझै तारजाली आवश्यक रहेको वन अध्यक्ष जीतराम चौधरी बताउँछन्।

‘अझै तीन किलोमिटर वनक्षेत्रमा तारजाली आवश्यक छ,’उनी भन्छन्, ‘जनावरलाई नियन्त्रण गर्न नसके बस्तीमा दिउँसो पनि जोखिम रहन्छ।’

यहाँ सत्ती कर्णाली र श्रीलङ्का सामुदायिक वन क्षेत्रको नजिक भारततर्फ पनि घना जङ्गल भएकाले जङ्गली जनावरको आक्रमण बढिरहेको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित