काठमाडौँ – माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक र विधान प्रतिवेदनमाथि छलफल गर्न समूहगत विभाजन गरिएको छ ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा देव गुरुङ विधान मस्यौदा प्रस्तुत गरेका थिए । प्रचण्ड र गुरुङले प्रस्तुत गरेका दुवै प्रतिवेदनमाथि छलफल गर्न २५ समूह बनाइएको छ । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाले युवालाई स्वदेशमै रोजगारी दिनका लागि योजनाहरु प्रस्तुत गरेका छन् । पार्टीको जारी आठौँ महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै युवा रोजगारको लागि योजना ल्याएका हुन् । दाहालले अहिले युवालाई देशमै रोजगारी दिने विषयमा सरकारी नीति नै बाधक भएको टिप्पणी पनि गरे ।
जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् ।