अझै बनेन चाबहिल–जोरपाटी–साँखु सडक

अझै बनेन चाबहिल–जोरपाटी–साँखु सडक

फरक पत्रिका

बिहिबार, पौस १ २०७८

अझै बनेन चाबहिल–जोरपाटी–साँखु सडक

चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन् ।

सडक विस्तारमा भइरहेको ढिलाइले काठमाडौंको पूर्वी क्षेत्रको मुख्य यो सडक घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बन्ने गर्छ । समस्या नभएका सबै ठाउँहरुमा कालोपत्र भइसके पनि साँघुरा बस्ती भएका ठाउँमा कालोपत्र हुन बाँकी रहेको बताइएको छ । विगतका वर्षमा जग्गा प्राप्त हुन नसकेको ठाउँमा काम गर्न बाँकी रहेको छ । अहिले डाँछि, थली र तिवारी टोलमा विवादका कारण काम गर्न नसकिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

बीस मिटर चौडाइका लागि जग्गा उपलब्ध हुन नसकेपछि अब जति जग्गा उपलब्ध छ त्यसैमा कालोपत्र गरिने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताएका छन्। उनले भने, “हामीले उपलब्ध चौडाइमा नै काम गर्न स्वीकृति पनि पाइसकेका छौँ ।” कतिपय ठाउँमा २० मिटर चौडा बनाएर पैदल यात्रु मार्ग बनाए पनि अहिले स्थानीयवासीले त्यहाँ काम गर्न नदिएको आयोजनाले जनाएको छ । पैदल यात्रुमार्ग भन्दा भित्र पर्ने सडकमा नै तरकारी रोपेको र पर्खाल लगाएको सूचना अधिकारी जोशीले बताए। “स्थानीयवासीले पहिले कालोपत्र भएको ठाउँमा मात्रै गर्न दिने भएकाले त्यसमा मात्रै गरिनेछ”, उनले भने, “अब १० मिटर चौडाइमा मात्रै कालोपत्र गरेर ठेक्का सम्पन्न गर्ने तयारी अघि बढाइएको छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित