भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता

फरक पत्रिका

शुक्रबार, असोज १२ २०८०

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गसमेत व्यक्तिका नाममा दर्ता

भूमाफियाको योजनामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको ४ बिघा १७ कट्ठा जग्गा व्यक्तिका नाममा सारिएको पाइएको छ । ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालनसमेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता गरिएको पुष्टि भएको छ ।

धेरैजसो भारतको गोरखपुरमा बसोबास गर्ने सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्यालय रूपन्देहीले सात कित्तामा रहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिन गत वैशाख ८ मा दर्ता गरिदिएको हो । दर्ता गरिदिन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले मालपोतका नाममा परमादेशसमेत दिएको थियो । जबकि २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो विमानस्थलको उद्घाटनसमेत २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।

 

५८ वर्षअघि हदबन्दीमा परेको जग्गामा आठ वर्ष लगाएर विमानस्थल बनेको एक वर्षपछि जग्गा व्यक्तिका नाममा सारिएको हो । उक्त जग्गा विमानस्थलको केही कम्पाउन्डभित्र र धावनमार्गमा समेत परेको छ । हदबन्दीमा परेको यो जग्गा फिल्डबुकमा भए पनि कसैको नाममा दर्ता थिएन । तर भूमाफियाको योजनामा मिश्र परिवार अदालतमा गएपछि उच्च अदालतको आदेशमा मालपोत कार्यालयले मिश्रका नाममा सारिदिएको थियो । लालपुर्जा पाएपछि योजनाबद्ध रूपमा मिश्रले आफ्नो जमिन विमानस्थलले अधिग्रहण गरेको दाबी गर्दै मुआब्जाका लागि विमानस्थल आयोजना कार्यालयमा निवेदन दिएका छन् ।

भूमाफियाले मिश्रलाई प्रयोग गरेर जमिन व्यक्तिका नाममा दर्ता गराउन सफल भएको स्रोतको दाबी छ । २०७९ सम्म फिल्डबुकमा कसैको नाममा नरहेको जग्गा आफ्नो भन्दै मिश्रले निवेदन दिएपछि विमानस्थल आयोजना कार्यालयले विभिन्न निकायलाई जानकारी गराएको छ । ‘नागरिक उड्डयन प्राधिकरण र जिल्ला प्रशासनलगायत निकायमा जानकारी गराएका छौं,’ आयोजना प्रमुख अधिकारीले भने, ‘तत्काल मुआब्जा दिने कुरै हुँदैन । बाँकी निर्णय सम्बन्धित निकायहरूले गर्छन् ।’

भूमिसम्बन्धी ऐन, २०२१ लागू हुँदा एक जना वा एकापरिवारका नाममा ११ बिघासम्म जमिन राख्न पाइने प्रावधान थियो । स्थानीय सुर्जा मिश्राइनको हक भोगमा ३० बिघा १४ कट्ठा १४ धुर जमिन रहेको फाँटवारी आएपछि विसं २०२२ पुस २० मा उनले हदबन्दीभन्दा धेरैको जमिन स्थानीय काली मन्दिरका नाममा दिएकी थिइन् ।

 

निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबीच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार सावित भएका थिए । त्यसबेला साबिक भुजौली नक्सा सिट नम्बर ९ ९ख० का कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने र बाँकी रमाकान्तका नाममा नामसारी दर्ता हुने निर्णय भएको थियो । जमिनको स्वामित्व हस्तान्तरण नहुँदै रमाकान्तको २०६४ मंसिर २२ मा मृत्यु भएपछि नजिकको हक लाग्ने नाति पर्वतराजकान्त मिश्रका नाममा भुजौली ९ ९क० र ९ख० का गरी २४ वटा कित्ताका १० बिघा ६ कट्ठा १९ धुर जमिन दर्ता भयो । मिश्राइनको ३० बिघा १४ कट्ठा १४ धुर जमिनमध्ये १३ बिघा १३ कट्ठा ८ धुर जमिनमा मोही कायम भएको र काली मन्दिरलाई ६ बिघा जमिन दिएपछि बाँकी रहेको जमिन पर्वतराजकान्तका नाममा दर्ता गरिएको थियो ।

आफ्नो नाममा आएको जमिन पर्वतराजकान्तले विभिन्न मितिमा बिक्री गरेका थिए । बिक्री गरेर बाँकी रहेको १ बिघा १ कट्ठा जमिन विमानस्थल निर्माण हुँदा अधिग्रहणमा परेपछि मुआब्जा लिएका थिए । हदबन्दी लागेर मन्दिरलाई छाडिएको जमिन अहिले मिलेमतोमा मिश्रका नाममा गरिएको हो ।

विमानस्थलभित्र परेको जग्गा लिन हरिप्रसाद वर्नवाल, हरिशंकर मिश्र र पर्वतराजकान्तबीच विवाद भएको थियो । २०७८ पुस ८ मा हरिप्रसाद वर्नवाल, हरिशंकर मिश्र र पर्वतराजकान्तबीच जिल्ला अदालतमै मिलापत्र भयो, त्यसैका आधारमा जिल्ला अदालतले २०७८ मै मिलापत्र गरेर जग्गा दर्ता गरिदिनु भनेको थियो । मिलापत्र भएपछि पर्वतराजकान्त जग्गा दर्ता गर्न गएका थिए । मालपोतले दर्ता गर्न नमानेपछि मिश्र उच्च अदालत दाङको बुटवल इजलास गएका थिए । ‘जिल्ला अदालतले २०७८ मै मिलापत्र गरेर जग्गा दर्ता गरिदिनु भनेको थियो,’ मालपोत कार्यालय रूपन्देहीका प्रमुख कुमार आचार्यले भने, ‘मिलापत्र भए पनि हामीले जमिन दर्ता गर्न सक्दैनौं भन्यौं । त्यसपछि मिश्र उच्च अदालत गए ।’ उच्चले निर्णय कार्यान्वयन गर्न परमादेश दिएकाले मालपोत कार्यालयले दर्ता गरिदिएको उनले बताए । विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोतले मुआब्जा वितरण समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग भने कुनै परामर्श लिएको छैन ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मालपोत र विमानस्थल आयोजनालाई जग्गाको आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएको जनाए । ‘जमिनको विवाद र व्यक्तिका नाममा दर्ता हुँदासम्मका सबै कागजात माग गरेको छु,’ उनले भने, ‘सबै अध्ययन गरेपछि सत्यतथ्य बाहिर आउनेछ । गलत गरेको पाइए कानुनी दायरामा ल्याउँछौं ।’ कान्तिपुर दैनिकबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित