यसअघि प्रतिस्पर्धी बजारमा मात्रै बिजुली बेचेको नेपालले गत साता मध्यकालीन सम्झौतामा समेत अनुमति पाएपछि प्रतिस्पर्धी र मध्यकालीन बजारमा समेत बिजुली बिक्रीको बाटो खुलेको हो । प्राधिकरणले प्रतिस्पर्धी र मध्यकालीन दुवै गरी ६३२ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई जानकारी दिए । ‘अनुमति पाए जति सबै बिजुली निर्यात हुन थालेको छ,’ उनले भने, ‘देशमै बढी माग भएको दिनबाहेक अन्य समयमा हामीले भारतमा बिजुली बिक्री गरिरहेका छौं ।’
यसअघि प्रतिस्पर्धी बजारमा मात्रै अनुमति दिएको भारतले पाँच वर्षका लागि दुई आयोजनाको ११० मेगावाट बिजली बिक्रीको अनुमति गत साता दिएको थियो । मध्यकालीन सम्झौतामार्फत ११० मेगावाट र प्रतिस्पर्धी बजारमा थप ७० मेगावाट विद्युत् बिक्रीको अनुमति पाएपछि नेपालबाट ६३२ मेगावाट भारतीय बजार बिक्री खुलेको थियो ।
मध्यकालीन पाँचवर्षे विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) मार्फत ११० मेगावाट र प्रतिस्पर्धी बजारको ७० मेगावाटसमेत बिजुली बिक्रीको अनुमति पाएपछि उक्त परिणामको बिजुलीसमेत बिक्री थालेको प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जनाए । पाँचवर्षेको मध्यकालीन विद्युत् बिक्रीको अनुमति पाएका आयोजनामा सोलुखोला र दोर्दी खोला हुन् । तीन प्रतिशत हाराहारीमा प्रसारण लाइन चार्ज कटाएर साहस ऊर्जाले निर्माण गरेको ८३.४२ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) र हिमालयन पावर पार्टनरले निर्माण गरेको २६.१९ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली मध्यकालीन सम्झौताअन्तर्गत पाँच वर्ष बिक्री गर्न पाइनेछ ।
प्राधिकरणले यी आयोजनाबाट वर्षायाममा उत्पादित बिजुली पाँच वर्षसम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसा (५.२५ पैसा भारु) मा बिक्री गर्न पाउनेछ । अनुमति ढिलो पाएका कारण यस वर्षका लागि ५ सेप्टेम्बरदेखि ३१ अक्टोबर (भदौ १९ देखि कात्तिक १४) सम्म ११० मेगावाट बिक्री अनुमति पाएको छ । आगामी वर्षदेखि सन् २०२७ सम्म भने जुन १ देखि अक्टोबर ३१ सम्म ५ महिनासम्म ८ रुपैयाँ ४० पैसामा बिक्रीको अनुमति पाएको छ । उक्त बिजुली ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको हरियाणामा पठाइएको छ ।
प्रतिस्पर्धी बजारमा थप ७० मेगावाट स्वीकृति पाएको बिजुली भने टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइनबाट निर्यात भएको अधिकारीले जनाए । निर्यात स्वीकृति पाएका ३८.४ मेगावाट क्षमताको अपर कालंगागाड र माथिल्लो चमेलियाको ४० मेगावाट बिजुली प्रतिस्पर्धी बजारमा बिक्री हुनेछ । यी आयोजनामा प्रसारण लाइन चार्ज कटाउँदा ७० मेगावाट भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुन थालेको हो ।
यसअघि भारतमा बिक्रीका लागि अनुमति पाएका आयोजनामा प्राधिकरणले निर्माण गरेको २३.२८ मेगावाटको त्रिशूली जलविद्युत्, १४.५५ मेगावाटको देवीघाट, चिलिमे जलविद्युत् कम्पनीले बनाएको २१.४४ मेगावाटको चिलिमे जलविद्युत् र माथिल्लो सोलु जलविद्युत् कम्पनीको २२.८ मेगावाटको सोलुखोला, प्राधिकरणले निर्माण गरेका ६७ मेगावाटको मर्स्याङ्दी, १४० मेगावाटको कालीगण्डकी ए, ६८ मेगावाटको मध्यमर्स्याङ्दी र ग्रिन भेन्चर प्रालिले बनाएको ५१ मेगावाटको लिखु–४, २४.२५ मेगावाटको काबेली बी–१ र १९.४ मेगावाटको तल्लो मोदी र पछिल्ला दुई आयोजना ३८.४ मेगावाट क्षमताको अप्पर कालंगागाड र माथिल्लो चमेलियाको ४० मेगावाट गरी ५२२ मेगावाट प्रतिस्पर्धी बजारमा बिक्रीको अनुमति पाएको छ । यी आयोजनाको बिजुली बढी भएको बेला प्राधिकरणले भारतमा बिक्री गर्न पाउनेछ ।
अहिले प्राधिकरणले निजी जलविद्युत् प्रवर्द्धकसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसामा किन्ने गरेको छ । भारतको प्रतिस्पर्धी बजारमा बिक्री गरिरहेको बिजुलीमा हाल १० रुपैयाँको हाराहारीमा बिक्री मूल्य पाएको छ । नेपाली बिजुली प्रतियुनिट भारु ६.७२ (१०.७ रुपैयाँ) सम्ममा बिक्री हुन थालेको प्राधिकरणले जनाएको छ । यसअघि युनिटकै १६ रुपैयाँसम्म बिक्री भएको थियो ।
प्राधिकरणले ०७८ कात्तिकदेखि भारतमा बिजुली निर्यात गर्दै आएको छ । पहिलो पटक दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको थियो । ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो । ०७९ कात्तिकमा थप दुई गरी कुल १० आयोजनाको स्वीकृत यसअघि नै पाइसकेको छ । पछिल्ला थप दुई आयोजनाको अनुमतिसँगै १२ जलविद्युत् आयोजना बिजुली प्रतिस्पर्धी बजारमा बेच्न पाउनेछ । भारतले गत महिना मात्रै ऊर्जा व्यापार सम्झौता भएका मुलुकलाई सहज हुने गरी क्रस बोर्डर इलेक्ट्रिसिटी ट्रेड नियम परिवर्तन गरेको थियो ।
उक्त नियमले भारतीय बजारमा बिजुली खरिद तथा बिक्रीका लागि आधा घण्टाअघि निर्णय गर्न मिल्ने सुविधा दिएको छ । नियम परिवर्तनले भारतसँग ऊर्जा सम्झौता भएका देश नेपाल, भुटान, बंगलादेशलगायतले भारतीय ऊर्जा बजार (आईईएक्स) मा वास्तविक समय (रियल टाइम) मा बिजुली खरिदबिक्री गर्ने सुविधा पाएका छन् । त्यसअघि आईईएक्समा ‘डे अहेड’ का आधारमा बिजुली बिक्री हुने गरेको थियो ।
रियल टाइमभन्दा ‘डे अहेड’ बजारमा बढी मूल्य प्राप्त हुने हुँदा प्राधिकरणले ‘डे अहेड’लाई प्राथमिकतामा राखेर बिजुली बिक्री गर्दै आएको जनाएको छ । भारतले गत साता मात्रै नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव पास गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भएको १० वर्षे सम्झौता भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत भएको थियो ।