काभ्रेपलाञ्चोक । पछिल्लो समय देशका विभिन्न भेगमा बर्ड फ्लु संक्रमण फैलदैँ गएपछि सिन्धुपाल्चोक र काभ्रेमा उच्च सतर्कता अपनाइने भएको छ । जिल्ला पशुसेवा कार्यालय धुलिखेलले काभ्रे र सिन्धुपाल्चोकमा बर्डफ्लु सङ्क्रमण भित्रन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको हो ।
यसबारे सरोकारवालाले छलफल गरी परीक्षण तथा निगरानी बढाउन प्रशासनलाई सुझाव दिँदै दुई जिल्लामा बर्डफ्लु भित्रने सम्भावना न्यून रहने बताएका छन् । देशका केही स्थानमा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखिएको छ । काभ्रे र सिन्धुपाल्चोकमा पनि जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षाका उपाय कडा पार्न लागिएको कार्यालयले जनाएको छ।

यस्तै कार्यालयले दुई जिल्लास्थित सीमानाकामा निगरानी कडा बनाउने र कुखुरा तथा अन्य पन्छी पालिने फार्महरूको नियमित निरीक्षण गर्ने निर्णय गरिएको छ । विशेषगरी तराई क्षेत्रबाट काभ्रेपलाञ्चोक प्रवेश गर्ने मुख्य नाका मङ्गलटारमा कडाइका साथ जाँच गरिनेछ ।
साथै राजधानीको पूर्वीनाका साँगा तथा नालालगायत काठमाडौं उपत्यकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जाने नाकाहरूमा पनि निगरानी बढाइने छ । यससँगै बर्डफ्लु रोगको जोखिम र त्यसका असरबारे चेतनामूलक एवं प्रचारप्रसारका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
पूर्वी क्षेत्रबाट आउने कुखुराको नमूना तत्काल परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । पशु कार्यालय प्रमुख बज्रकिशोर ठाकुरले बर्डफ्लु रोग प्रवेश हुन नदिन कार्यालयले अन्य निकायसँग पनि समन्वय गरी आवश्यक तयारी गरिरहेको बताए ।