कुविण्डेमा शीतभण्डार : अब आलुले राम्रो मूल्य पाउने, बिऊ पनि नकुहिने

कुविण्डेमा शीतभण्डार : अब आलुले राम्रो मूल्य पाउने, बिऊ पनि नकुहिने

फरक पत्रिका

मंगलबार, चैत्र १० २०८२

कुविण्डेमा शीतभण्डार : अब आलुले राम्रो मूल्य पाउने, बिऊ पनि नकुहिने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कुविण्डेमा दश करोड रूपैयाँको लगानीमा निर्माण भएको शीतभण्डार सञ्चालनमा ल्याइएको छ । संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा बनेको शितभण्डार हालै सञ्चालनमा ल्याइएको हो ।
शीतभण्डार सञ्चालनमा आएसँगै स्थानीय किसान खुशी छन् । अब आलुले राम्रो मूल्य पाउने र विऊ पनि नकुहिने हुँदा किसान खुबी भएका हुन् । अहिले किसानले आलुको सिजन भएकाले राम्रो मूल्य पाएका छैनन् । अपेक्षित मूल्य नपाउँदा किसानहरूले उत्पादन तत्काल बिक्री नगरी भण्डारण गर्न थालेका छन्।
शितभण्डारले किसानले व्यवसायिक रूपमा उत्पादन गरिएको आलु सुरक्षित राख्न, बजार अभाव र उचित मूल्य नपाउने समस्या घटाउन तथा बीउ कुहिनबाट जोगाउन राहत दिएको किसानहरु बताउँछन् ।


सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डे आसपास आलु उत्पादनको पकेट क्षेत्र हो । कुविण्डेलगायत नौविसे, जल्केनी, कार्कीटार, बाह्रविसे र जुगललगायतका क्षेत्रमा अर्गानिक आलुको उत्पादन राम्रो भए पनि शीतभण्डार अभावका कारण किसानहरूले लामो समयदेखि समस्या भोग्दै आएका थिए । उत्पादन भएको आलु समयमै बिक्री गर्न नसक्दा कुहिने र घाटा बेहोर्नुपर्ने अवस्था रहेको थियो । तर, हालै शीतभण्डार निर्माण भएर सञ्चालनमा आएपछि अहिले बजारमा आलुको मूल्य कम रहेकाले किसानहरूले सुरक्षित रूपमा अहिलेलाई आलु भण्डारण गरेर पछि उचित मूल्यमा बिक्री गर्ने अवसर पाएका छन्।यसअघि किसानहरूलाई आलु सुरक्षित राख्न राजधानीका शीतभण्डारमा लैजानुपर्दा महागो भाडा तिर्नुपर्ने, ठाउँ नपाएर विभिन्न स्थानमा भौतारिनुपर्ने समस्या थियो । शीतभण्डार खाली नहुँदा धेरैले उत्पादन गरिएको आलु जोगाउन नसक्ने अवस्था समेत आउने गरेको थियो । तर, अहिले सहज रूपमा आफ्नै क्षेत्रमा आलु भण्डारण गर्न पाएका छन् ।शीतभण्डारले किसानको समय, लागत र श्रमको बचत हुनुका साथै उत्पादन सुरक्षित राखेर उचित समयमा बिक्री गर्न पाउने भएका छन् । कुविण्डे दुग्ध उत्पादन सहकारी संस्थासंगको समन्वयमा चौतारा साँगाचोकगढी नगरपालिकाको ४ करोड रूपैयाँ लगानीबाट सुरू गरिएको यो आयोजना संघ र प्रदेश सरकारको थप सहयोगसँगै करिब १० करोड रूपैयाँ लागतमा निर्माण भएको हो ।
तीन सय ३० मेट्रिक टन भण्डारण क्षमता रहेको शीतभण्डार सञ्चालनमा आएपछि प्रतिबोरा दुई सय २० शुल्क निर्धारण गरेर हालसम्म १ सय ६५ टन आलु भण्डारण गरिएको छ । सिन्धुपाल्चोकमा उत्पादन हुने आलु अन्य क्षेत्रको तुलनामा स्वादिलो मानिने भएकाले आलुको मागसंगै र किसानको उत्पादन वृद्धि भएको छ। तर, अहिले बजारमा आलुको आपूर्ति अत्यधिक भएकाले मूल्य घटेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित