सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट नवलपुर हुँदै मेलम्चीसम्म पुग्ने सडक स्तरोन्नतिको ठेक्का लियो सिद्धबाबा कन्ट्रक्सन प्रालिले २०८० असार २२ गते । उसले सम्झौता गरेको दुई वर्षअर्थात २०८२ असार २३ गतेसम्म सम्पन्न गरी हस्तान्तरण गर्ने भन्दै ठेक्का लिएको थियो ।

तर, सम्झौता गरेको ३२ महिना बितिसक्दासमेत सडकले पूर्णता पाएन । उल्टै स्थानीयवासीले सडकबाट सास्ती भोग्नुपरेको छ । २६ करोड ८२ लाख ९३ हजार र्दु सय साठी रुपैयाँमा ठेक्का लिएको सिद्धबाबाले अपेक्षित काम गर्न सकेन । उसले सडक, नाली, कालोपत्रेको जिम्मा लिएर काम सुरु गरेको थियो । तर ३२ महिनामा ४० प्रतिशत मात्रै काम गरेपछि स्थानीय आन्दोलित बने ।
सिन्धुपाल्चोकको चौतारा–नवलपुर–मेलम्ची सडक खण्डअन्तर्गत चौतारा–झ्याँडी खण्डको निर्माण कार्य ठेकेदार कम्पनीको लापरबाही र ढिलासुस्ती कारण अलपत्र परेपछि स्थानीय आक्रोशित बनेका हुन्। सम्झौता भएको ३२ महिना बितिसक्दा पनि काम पूरा हुन नसक्दा दिनहुँ धुलो र हिलोको समस्या भोग्नु परेपछि स्थानीय आन्दालित बने ।
सडक खण्ड अन्तर्गत पीपलडाँडाका युवाहरु जिल्ला पूर्वाधार विकास कार्यालय घेराउ गर्न गए । नारा जुलुससहित ।
सिन्धुपाल्चोकको सदरमुकामसँग जोडिएको चौतारा–झ्याँडी सडक खण्डको सडक निर्माण लामो समयदेखि पूरा नभएकाले अहिले पनि स्थानीयले धुलो र हिलोको समस्या भोग्न बाध्य भएका हुन्। सडकबाट उड्ने धुलो घरभित्र पस्दै भान्छासम्म पुग्न थालेपछि ठेकेदार र पूर्वाधार कार्यालयविरुद्ध स्थानीय उर्लिएका हुन् ।
धुलोकै कारण स्थानीयबासीमा स्वास्थ्य समस्याका साथै सवारी दुर्घटना बढ्ने खतरा बढेर गएको छ। यो सडकको विजोक अवस्थाकै कारण यहाँका स्थानीयले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् । धुलो र हिलोका कारण अस्पताल र दैनिक काम लिएर सदरमुकाम जान आउन सास्ती झेल्दै आएको पीपलडाँडाका श्रीकृष्ण कुवँर बताउँछन् ।
निर्धारित समयमा काम नसकिएपछि निर्माण कम्पनीलाई गत पुस मसान्तसम्म म्याद थप गरिएको थियो। तर, सम्झौता भएको ३२ महिना बित्दा पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयले निर्माण कम्पनीलाई १५ पटक पत्र पठाएर असार मसान्तभित्र काम सम्पन्न गर्न ताकेता गरेको कार्यालयका सिभिल डिभिजन इञ्जिनियर प्रकाशश पौडेलले फरकपत्रिकालाई बताए ।
भित्ताको माटो काट्ने, टेवा पर्खाल, र नाली बनाउनेलगायतका काम विचमै भद्रगोल छ। यसकारण बर्खा अगावै काम सम्पन्न गर्न स्थानीयले दबाब दिन थालेका अभियन्ता राजेन्द्र सापकोटाले बताए ।
स्थानीयले बबाब दिन थालेपछि पूर्वाधार कार्यालयले ठेकेदार दीपककुमार कार्कीलाई बोलायो । कार्की, स्थानीय र पूर्वाधर कार्यालयबीच त्रिपक्षीय सम्झौता पनि भयो ।
सडकबाट सास्ती पाएका स्थानीयसामू ठेकेदार कार्कीले विभिन्न सर्तमा काम गर्ने सम्झौता गरे । चैत १ गते भएको सम्झौतामा अको डेढ महिनाभित्र ढलानको काम सक्ने जनाइएको छ । २०८३ वैशाख १५भित्र ढलानको काम सक्ने कार्कीले बताए । उनले सडकमा सब बेसको काम असार मसान्तभित्र सक्ने पनि प्रतिबद्धता जनाएका छन् ।
अहिले तत्काल कालोपत्रे सम्भव नभएकाले २०८३ पुसमा कालोपत्रेको काम सक्नेसमेत स्थानीयसामू ठेकेदार कार्कीले सम्झौता गरेका छन् । सम्झौताअनुरुप काम नभएर प्रचलित खरिद नियमअनुसार कार्यालयले कानूनी प्रक्रिया अगाडि बढाउने पूर्वाधर विकास कार्यालयले जनाएको छ ।