कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७ बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये शुभकालिका गाउँपालिकामा एक हजार ७२२, महावैमा दुई हजार ७९, नरहरीनाथमा तीन हजार ६९६, पचालझरनामा दुई हजार ९१, पलाँतामा दुई हजार ७७७ र सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजार ५०७ तथा खाँडाचक्र नगरपालिकामा तीन हजार ५४४, रास्कोटमा तीन हजार ३०३ र तिलागुफा नगरपालिकामा दुई हजार ८९२ गरी कूल २४ हजार ६११ जना ती समूहका बालबालिका रहेका छन् । तीमध्ये पहिलो मात्राको खोप १८ हजार १६७ जना बालबालिकालाई दिने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिएका छन् ।