अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, यस्ता छन् त्यहाँका थप गन्तव्य

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, यस्ता छन् त्यहाँका थप गन्तव्य

फरक पत्रिका

सोमबार, कार्तिक ११ २०८२

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, यस्ता छन् त्यहाँका थप गन्तव्य

काठमाडौं । म्याग्दीस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरू भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरूआतसम्म पनि रोकिएको छैन। यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन्।

पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरू भरिभराउ भएका छन्। होटल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। दसैं, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यालय कलेजका विद्यार्थी, युवा तन्नेरी, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाका रोजाइमा मुस्ताङ र अन्नपूर्ण आधार शिविर परेको हो। स्थल मार्गबाट घुम्नेहरुका रोजाइमा ती चार जिल्लाका पर्यटकीय स्थल परेको छ ।

आन्तरिक पर्यटकको पहिलो रोजाइमा मुस्ताङ जिल्लास्थित मुक्तिनाथ दर्शन गर्ने गन्तव्य बनेको छ। मुस्ताङ पुगेकाहरुले कोरला नाका, लोमान्थाङ दरबार, छोसेर गुफा, चिउँसी गुफा, चराङ गुम्बा, मराङ गुम्बा, कागबेनी, ढुम्बाताल र मार्फा गाउँको भ्रमण गर्ने गर्दछन्। यहाँ बर्सेनि आठ लाख बढी आन्तरिक र डेढ लाख बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गर्ने जनाइएको छ।

छोटो अवधीमा पहाडी र हिमाली क्षेत्रको एकै पटक साहासिक यात्रामा रुची राख्नेहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका छन्। फुतफुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल हुदै चार हजार एक सय ९० मिटर उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर पुगिन्छ। तीन दिनमा आधार शिविर पुगेर फर्कन सकिन्छ। निलगिरि र अन्नपूर्ण हिमालको फेदमा समथर फाँटमा रहेको अन्नपूर्ण आधार शिविर नयाँ गन्तव्य पनि हो।

म्याग्दी हुँदै सडक मार्ग भएर दैनिक आठ हजार जना मुस्ताङ भित्रिएका छन् भने अन्नपूर्ण आधार शिविर जानेको संख्या दैनिक पाँच सय जना भन्दा बढी छ। बेनीका होटल व्यवसायी हरिकृष्ण श्रेष्ठले अन्नपूर्ण आधार शिविर र मुस्ताङमा यसपाली कल्पना गरेको र भएका होटलहरुको क्षमता भन्दा धेरै संख्यामा पाहुना आएका बताए।

‘दसैं र तिहारमा मुक्तिनाथ र उपल्लो मुस्ताङ भ्रमण गर्नेहरुको घुइँचो विगतदेखिनै भए पनि यसपाली अन्नपूर्ण आधार शिविर जानेहरु पनि थपिदा होटल, रेष्टुरेन्ट र होमस्टेहरुले थेग्न नसकेका हुन्,’ उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि राज्यले बनाएको नीतिको व्यवहारिक कार्यान्वयन नहुँदा घुमेर रमाउन आएका पाहुनाहरुले गोजीमा पैसा भएर पनि खाना र बस्नको लागि दुःख पाउने अवस्था आएको हो।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2025 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित