सिन्धुपाल्चोक । बर्खामा बन्द गरिएको मेलम्चीको खानेपानी काठमाडौं लैजान थालिएको छ। बर्खायाममा धमिलो पानी आउने, बाढी आउने र पहिरोले बिथोल्ने भन्दै गएको असार गते मेलम्ची काठमाडौं लैजान बन्द गरिएको थियो । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै बन्द गरिएको पानी लैजन थालिएको हो ।
हिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए। वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाब कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएको उनले जानकारी दिए ।
काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ।
मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो। मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौँ उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।