सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा रहेको ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर जेनजीको नाममा एउटा समूहले लिएको छ । आयोजनाले एक् सय रुपैयाँ अंकित मूल्यमा १९ करोड रुपैयाँ बराबरको सेयर दिने सम्झौता भएको हो ।
भोटेकोशीका एक समूहले जेनजीका नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर लिएको छ।
जेनजी आन्दोलनपछि भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेन–जी ग्रुपका नाममा १० प्रतिशत निःशुल्क सेयर मागेर भदौ २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन।
आयोजना लामो समयदेखि बन्द हुँदा मर्का परेका कारण त्यहाँका स्थानीयलाई दिने सम्झौता भएको ६ प्रतिशत सेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत सेयर स्थानीय जेनजी समूहलाई दिने सम्झौता गरिएको सिइओ आयोजनाका प्रमुख कार्यकारी अधिकृत सिइओ विक्रम स्थापितले बताए।
कम्पनीले यसअघि दिने भनेको ६ मा चार प्रतिशत बढाएर कुल १० प्रतिशत सेयर वितरण गर्ने सहमति गरेको हो । अंकित मूल्य १०० कायम गरी उक्त सेयर स्थानीय जनतालाई निष्कासन गर्ने तयारी सुरु भएको कम्पनीले जनाएको छ ।
सेयर पाउने पक्का भएपछि उक्त समूहले आयोजना सञ्चालन गर्न दिएको छ। भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडबिच आइतबार सम्झौता भएको हो । फुर्वा शेर्पा अध्यक्ष, सांगे शेर्पा भोटेकोशी जेनजी संयोजक, बीरबहादुर लामा सदस्य र मिङमार शेर्पा सदस्य भनेर भोटेकोशी पावर कम्पनीसँग उनीहरुले सम्झौता गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला लगायत विभिन्न सरकारी निकायका प्रतिनिधि तथा भोटेकोशी गाउँपालिकाका प्रमुखहरूको रोहवरमा भएको सम्झौताले लामो समयदेखिको स्थानीय सरोकारलाई सम्बोधन गरेको छ ।
सहमति पत्रमा उल्लेख छ, “आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाको सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न कम्पनीले भोटेकोसी गाउँपालिकामा दुई करोड ५० लाख रकम जम्मा गर्नेछ ।”
यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पान ले जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जामन्त्री गुहारेको थियो।