सिन्धुपाल्चोक। १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनाले भदौ अन्तिम सातादेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गर्ने भएको छ । सिन्धुपाल्चोककै ठूलो यो आयोजनाले भदौ १६ देखि परीक्षण रुपमा विद्युत उत्पादन सुरु गरेको थियो। सफल उत्पादनपछि अब नियमित रुपमा उत्पादन गर्न लागिएको हो ।
नेपाल विद्युत प्राधिकरणले निरीक्षण गरेर अनुमति दिएपछि व्यापारिक रुपमा विद्यत उत्पादन गर्न लागेको उक्त आयोजनाका कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले जानकारी दिए । वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने र त्यसबाट पौने तीन अर्ब आम्दानी हुने उनको भनाइ छ । आयोजना निर्माण सुरु भएको १४ वर्षपछि उसले बल्ल विद्युत उत्पादनमा लागेको छ । निर्माण पूरा हुदाँ १२ अर्ब ३३ करोड २८ लाख लागत अनुमान गरिएकोमा १४ वर्षसम्म आयोजना निर्माण सम्पन्न नहुदाँ २२ अर्ब लागत भएको आयोजनाले जनाएको छ ।
आयोजनामा चरम राजनीतिक हस्तक्षेप, स्थानीय प्रभावितका अवरोध, आयोजनाका आन्तरिक प्रशासनिय समस्या, कोरोना महामारी, बाढीपहिरो, भूकम्प, भारतीय सीमामा भएको अवरोध लगायतका कारण आयोजना तोकिएको समयमा पूरा हुन नसकेको आयोजनाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत आयोजना मुख्य प्रवद्धक रहेको सो आयोजना सन् २०१२ मा निर्माण थालिएको थियो ।
भोटेकोशी गाउँपालिका–५ चाकुमा बाँध र बाह्रबिसे नगरपालिका जम्बुमा पावरहाउस रहेको सो आयोजनाले ७।५ किलोमिटर दूरीको सुरुङ निर्माण गरेको छ । चिनियाँ कम्पनी ग्वाङ्सी हाइड्रोइलेक्ट्रिक ब्यूरोले सुरुङ निर्माण गरेको थियो । तीन पटकसम्म सो सुरुङबाट पानी चुहिएपछि मर्मतसंभार गरिएको थियो ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको बाह्रबिसे सबस्टेसन पूरा नभएका कारण सो आयोजनाले उत्पादन गरिरहेको विद्युत ४० किलोमिटर ट्रान्समिसन लाइनमार्फत नयाँ खिम्ती सबस्टेसनमा पु¥याएको छ । त्यसमा मध्यभोटेकोशीको २२० केभी पावर सिधै खिम्ती सबस्टेसनको ४०० केभी पावरमा जोडिएको सिवाकोटीले बताउनुभयो ।
खिम्तीबाट ढल्केश्वर हुँदै राष्ट्रिय प्रसारणको ग्रिडमा विद्युत जम्मा हुनेछ । आयोजनाको तीन वटा टरबाइनमध्ये एक वटा टरबाइन सञ्चालन गरेर परीक्षण रुपमा विद्युत उत्पादन भइरहेको छ । निश्च्यित समयमा आयोजना पूरा गर्न नसक्दा उसले अहिले ऋणको दैनिक ५० लाख ब्याज तिरिरहेको छ ।