सिन्धुपाल्चोक । गएको साउन १८ गते कोदारी राजमार्ग अन्तर्गत कोदारी सडक खण्डको इकुमा पहिरो गयो । लेदोसहित आएको पहिरो पन्छाउन नसक्दा सडक अवरुद्ध भयो । सडक विभाग, तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायी, प्रहरीलगायतले सडक खुलाउने निकै कसरत गरे । तर पहिरो पन्छाउन सकिएन ।
अहिले त्यो पहिरो गएको महिना दिन बित्यो । तर, समस्या ज्यूँका त्यूँ छ ।
तीन साता बन्द भएको कोदारी सडक खण्डको पहिरोस्थल गएको बिहीबार चार दिन सञ्चालनमा आएको थियो । आइतबारसम्म खुलेको इकु पहिरो त्यसैरात पुनः पहिरो आएपछि बन्द भएको थियो । आइतबारदेखि हालसम्म इकु पहिरो सडक सञ्चालनमा आउन सकेको छैन । पहिरो गएपछि सामग्री बोकेका कन्टेनर तातोपानी क्षेत्रमा रोकिएका थिए । चार दिन सडक खुल्दा केही कन्टेनर भित्रिएका छन् ।
सडक नखुल्दा दसैं र तिहार लक्षित सामग्री काठमाडौं ल्याउन पाइएको छैन । सडक बन्द भएपछि करिब एक हजार सात सय कन्टेनर तातोपानी क्षेर चिनियाँ भूभागमा रोकिँदा व्यापारी मर्कामा परेका छन् ।
तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दशैंअघि खुल्छ भन्न सकिने अवस्था नरहेको बताए ।
हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए । उनले भने, ‘दशैंतिहारलाई आयात गरेको सामान दशैंपछि आएर कुनै फाइदा छैन । तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ ।’
चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडा जस्ता वस्तु आयात हुने गरेको छ । चीनबाट आउने वस्तु विशेषगरी दशैं–तिहारलाई आवश्यक पर्ने वस्तु हुन् । दशैं–तिहार देखि चिसोलाई आवश्यक पर्ने लुगाकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन् । तर, छिटो सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारीहरु चिन्तित बनेका छन् ।
सडक खुलेका समयमा स्याउ, नास्पाती, अंगुर, लसुन, प्याजलगायतका फलफुलजन्य बस्तु तातोपानी भन्सार प्रवेश पाएका थिए । बन्द रहेका समयमा पहिरो स्थलबाट फलफुलजन्य र मसलाजन्य बस्तु मजदूरलाई बोकाएर तातोपानी भन्सार जाँचपासका लागि पठाइएको थियो ।
चीनको ल्हासा, सिँगात्से, न्यालाममा मालबस्तु बोकेका कन्टेनर थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए । उनले कन्टेनर उतै अड्किएक कारण व्यवसायीलाई थप आर्थिक भार परेको बताए । व्यवसायीका सामग्री रोकिएकाले यता ऋण गरेको भार बढेको उनको भनाइ छ ।