तातोपानीमा सामान लोड गरेका एक हजार कन्टेनर अलपत्र, भित्रिन पाएन दसैंका सामग्री

तातोपानीमा सामान लोड गरेका एक हजार कन्टेनर अलपत्र, भित्रिन पाएन दसैंका सामग्री

फरक पत्रिका

बुधबार, भाद्र ४ २०८२

तातोपानीमा सामान लोड गरेका एक हजार कन्टेनर अलपत्र, भित्रिन पाएन दसैंका सामग्री

सिन्धुपाल्चोक । बाह्रविसे-तातोपानी सडक खण्डअन्तर्गत इकुमा गएको साउन १८ गतेको पहिरोले अवरुद्ध सडक अझै खुल्न सकेको छैन ।
बर्खा लागे यता पटक पटक पहिरो पन्छाएर राजमार्ग सुचारु गरे पनि १८ गते परेको पानीले राजमार्ग भन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

सडक नखुल्दा दसैं र तिहार लक्षित सामग्री काठमाडौं ल्याउन पाइएको छैन । सडक बन्द भएपछि करिब एक हजार सात सय कन्टेनर तातोपानी क्षेर चिनियाँ भूभागमा रोकिँदा व्यापारी मर्कामा परेका छन् ।

तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दशैंअघि खुल्छ भन्न सकिने अवस्था नरहेको बताए । उनकाअनुसार अहिले तातोपानी क्षेत्रमा मात्रै करिब एक हजार सामान लोड गरेका कन्टेनर छन् ।

हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए । उनले भने, ‘दशैंतिहारलाई आयात गरेको सामान दशैंपछि आएर कुनै फाइदा छैन । तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ ।’

चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडा जस्ता वस्तु आयात हुने गरेको छ । चीनबाट आउने वस्तु विशेषगरी दशैं–तिहारलाई आवश्यक पर्ने वस्तु हुन् । दशैं–तिहार देखि चिसोलाई आवश्यक पर्ने लुगाकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन् । तर, छिटो र सस्तोमा सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारीहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित