तातोपानी र रसुवागढी नाका खुल्ने अनिश्चित, अन्य नाका खुलाउन व्यवसायीको माग

तातोपानी र रसुवागढी नाका खुल्ने अनिश्चित, अन्य नाका खुलाउन व्यवसायीको माग

फरक पत्रिका

बुधबार, भाद्र ४ २०८२

तातोपानी र रसुवागढी नाका खुल्ने अनिश्चित, अन्य नाका खुलाउन व्यवसायीको माग

सिन्धुपाल्चोक । कोदारीको इकुमा पहिरोका कारण कोदारी राजमार्ग दुई सतादेखि अवरुद्ध छ । लेदोसहितको पहिरो पन्छाउन नसक्दा तातोपानी नाकाबाट हुने कारोबार ठप्प बनेको हो । गत २४ असार रातिको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको थियो । अहिले रसुवागढी नाकाबाट मानिस र व्यापारिक सामान आवागमन ठप्प भएको छ ।

आयात व्यापारमा चीन नेपालको दोस्रो ठूलो साझेदार हो । पछिल्लो समय पूर्वाधार तयार भएसँगै चीनसँगको व्यापार उत्तरी नाकातर्फ सर्ने क्रम बढेको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१,८२ मा तातोपानीबाट ५० अर्ब रुपैयाँभन्दा बढी र रसुवागढी नाकाबाट ८५ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।
यसैले नेपाल समुद्रपार निकासी पैठारी संघले बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका रसुवागढी र तातोपानी प्रभावित भएसँगै थप नाका खोल्न माग गरेको छ ।

वर्षायाममा वर्षेनि यी दुई नाका बन्द हुँदा मित्रराष्ट्र चीनसँग स्थलमार्गबाट हुने व्यापार प्रभावित हुने गरेको छ । संघले अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधार निर्माणमा जोड दिएको छ ।

प्राकृतिक प्रकोपका कारण अकस्मात नाका बन्द हुँदा नेपालका लागि आयात भएका मालसामान बोकेका सयौँ कन्टेनर र ट्रक बीच बाटोमै अलपत्र परेका छन् । व्यवसायी चर्को व्ययभार बोक्न बाध्य छन् ।

नेपाल र चीन सरकारका उच्च अधिकारीहरू एक दशकअघि नै द्विपक्षीय छलफलका क्रममा सातवटा उत्तरी नाका खोल्न सहमत भएका थिए । ती नाकामा तातोपानी, मुस्ताङ कोरला, संखुवासभा किमाथांका, दोलखा लामाबगर, ताप्लेजुङ ओलाङचुङ्गोला, मुगु आम्जापास, हुम्ला यारी हिल्सा र गोरखाको लार्के थिए । तर, हालसम्म रसुवागढी र तातोपानी बाहेक अन्य नाका व्यापारिक प्रयोजनका लागि खुलेका छैनन् ।

कोरला नाका १२ महिना सञ्चालन गर्न सकिने अवस्थामा छ । कोरला नाकामा चीनतर्फ पूर्वाधार पनि तयार छ । नेपालतर्फ पनि कोरालासम्म सडक पुगिसकेको छ । ताप्लेजुङ ओलाङचुङ्गोला नाकाबाट पनि दुई देशबीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएको छ ।चीनबाट चाडपर्व लक्षित सामान आयात हुने दुवै नाका बन्द हुँदा व्यापारिक गतिविधि अपेक्षाकृत बढ्न नसक्ने, आमउपभोक्ता सुपथ मूल्यमा वस्तु प्राप्त गर्नबाट वञ्चित हुने र सरकारले पाउनुपर्ने राजस्व पनि गुम्ने अवस्था रहेकोतर्फ ध्यानाकर्षण गराउँदै संघले उत्तरका थप नाका व्यापारिक प्रयोजनका लागि खुला गर्नेतर्फ अविलम्ब पहल गर्न माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित