सिन्धुपाल्चोक । अहिले यतिबेला सिन्धुपाल्चोकको कोदारी राजमार्ग पुग्ने हो भने त्यहाँको इकु भीर पहिरोका काण अवरुद्ध भएको देख्न सकिन्छ । बाटो रोकिएको घटना त सामान्य नै भयो । हुन पनि १२ दिनसम्म पनि यो पहिरो कुनै निकायले पन्छाउन सकेको छैन । यहाँ पछिल्लोसमय साउन १८ गते पहिरो गएको थियो । त्यसदिनदेखि बाह्रविसे र तातोपानी सडकले जोडिन सकेको छैन ।
सडक अवरुद्ध हुँदा फाइदा कतै छैन । सबैतिर घाटा नै घाटा छ । सरकारदेखि व्यक्ति विशेषलाई घाटा छ । र, पनि सरकार अझै दीर्घकालीन त परै जाओस् केहीसमयका लागि पनि नाका खालेर सडक पन्छाउन त्यत्ति जिम्मेवार नदेखिएको तातोपानी नाका सम्बद्ध व्यवापारीहरुको आरोप छ ।
सडक सूचारु नहुँदा कन्टेनर आउन पाएका छैनन् । तातोपानी भन्सारबाट सामान पास हुन नपाउँदा राजस्व संकलन प्रधावित बनेको छ । यता व्यापारीहरुक सामग्री कुहिएर बिग्रिएका छन् । व्यापारीको लगानी डुब्न थालेको छ ।
गएको साउन १८ गतेदेखि अवरुद्ध भएको कोदारी राजमार्ग अझै सञ्चालन हुन सकेको छैन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित इकुमा पहिरो गएको १२ दिन हुँदासमेत अझै पन्छाउन नसकिएको हो ।
सडक अवरूद्ध भएपछि चीनबाट नेपाल सामान ल्याउन सकिएको छैन। लेदोसहितको पहिरो पन्छाउन नसकिएको हो ।
करिब दुई किलोमिटर अवरूद्ध भएको सडक नखुल्दा व्यवसायी मात्रै होइनन् आवतजावत गर्न स्थानीयलाई पनि समस्या भएको छ। सडक अवरुद्ध भएकै कारण करिब ६ सय कन्टेनर उतै रोकिएका छन् । अहिले नेपाल भित्रिएका फलफूल र तरकारी बोकेका कन्टेनरको सामान व्यवसायीले भरियालाई बोकाएर पहिरो कटाउन थालेका छन्।
यहाँ अर्काे समस्या छ । बाटो अवरुद्ध भएकोलाई मात्रै प्रमुख समस्या देख्नेहरुले अर्काे सम्भावित दुर्घटनाको ख्याल नै गरेका छैनन् भन्दा फरक नपर्ला । उतै अड्किएका सामग्री भारीबाट बोकाएर इकुको पहिरो तारिँदै छ । तल भोटेकोशी नदीबाट कटान, माथिबाट अविरल खसिरहने पहिरो अनि आकासबाट वर्षिरहेको झरीले बाटो हिलाम्मे छ । अनि छ भारी बोकेर पहिरो छिचोल्नहरुको ज्यानको बाजी ।
सहजै अनुमान गर्न सकिन्छ, भारी बोकेर हिँडिरहँदा एक्कासी चिप्लियो भने के हुन्छ ? यसबारे समयमै सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्छ अनि समस्या रोकथामका लागि पहल जरुरी छ । भारी बोकेर पहिरो छिचाल्दै गरेकाहरु नै भन्छन्—चिप्लियो भने ज्यान सिद्धियो ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटा तातोपानी नाका र त्यहाँको समस्याबारे जानकारी गराउँदा पनि सरकारले चासो नदिएको बताउँछन्। सरकारलाई तातोपानी नाका र यहाँको समस्याबारे जानकारी गराउँदा पनि चासो नदिएको उनको आरोप छ । अध्यक्ष सापकोटाका अनुसार पहिरो पन्छाउन एउटा टिपर र स्काइभेटरले मात्रै हुँदैन। संघीय सरकारले नाका खोल्नुपर्छ भनेर लाग्नुपर्छ ।
सडक खुलाउन आफूहरूले मेहनत गर्दा पनि अझै लेदो बगेर खुलाउन नसकेको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित कुमार श्रेष्ठले बताए।
आपतकालिन रूपमा राज्यले गर्ने स्रोत साधन प्रयोग गरेर सरकारले नाका खोल्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताए।
यस्तै, राज्यले विपद्मा गर्ने काममा चासो नदेखाएको उनको भनाइ छ। बिम तेस्र्याएर बाटो खुलाउन सकिने अवस्था हुँदा पनि राज्य त्यसतर्फ अग्रसर भएर काम नगर्दा करोडौंको घाटा बेहोर्नुपर्ने उनी बताउँछन्।
ईकु आसपास क्षेत्रमा साउन १८ गते बिहान ठूलो पहिरो खसेपछि पूर्णरूपमा अवरुद्ध भएको राजमार्ग अझै बनेको छैन् । जसको कारण चीनबाट नेपाल आयात गरिएको सामानहरु रोकिएका छन् ।