हेलम्बुमा व्यवसायिक डल्ले खुर्सानी खेती : गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने अर्काे पाइला

हेलम्बुमा व्यवसायिक डल्ले खुर्सानी खेती : गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने अर्काे पाइला

फरक पत्रिका

बिहिबार, साउन ३० २०८२

हेलम्बुमा व्यवसायिक डल्ले खुर्सानी खेती : गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने अर्काे पाइला

सिन्धुपाल्चोक । पाँच वर्षअघि स्थानीय युवा वीरजित तामाङले डल्ले खुर्सानीको व्यावसायिक खेतीको सुरुवात गरे । त्यसले राम्रो उत्पादन दिन थालेपछि अन्य युवाहरु पनि यस खेतीतर्फ आकर्षित भए ।

अहिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ भारती डिप्लोका युवाहरु परम्परागत जातको डल्ले खुर्सानीको खेती गरेर आत्मनिर्भर बन्न थालेका छन्। उनीहरुलाई अहिले बजारको समेत समस्या छैन ।
वीरजितले मात्रै तीन हजार खुर्सानीका बोट लगाएका छन्। खुर्सानीबाट गत साल रु पाँच लाखभन्दा माथि आम्दानी गरेको उनी बताउँछन्। गत वर्ष असिनाले गर्दा अलि कम भयो यस वर्ष त्योभन्दा बढी आम्दानी हुन्छ’, वीरजित बताउँछन्। उनका अनुसार हेलम्बु-५ का विभिन्न टोलमा गरी त्यहाँका युवा किसानले १५ हजारभन्दा माथि खुर्सानीका बोट हुर्काएका छन्।

युवाले गरेको खुर्सानीखेती फस्टाएपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले आर्थिक वर्ष २०८१, ८२ को कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खुर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५० प्रतिशत अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङ बताउँछन्।
उक्त अनुदान पाएसँगै हेलम्बु(५ का विभिन्न टोलमा त्यहाँका युवाहरूले व्यावसायिक डल्ले खुर्सानीखेती विस्तार गरेको व्यवसायी वीरजित बताए।

‘ सोही गाउँको खर्पुजे, प्रम्ची डाँडालगायत स्थानमा लगाइएको व्यावसायिक डल्ले खुर्सानीखेतीबाट यस वर्ष ५० लाखभन्दा माथि आम्दानी हुने अपेक्षा गरेको अर्का व्यवसायी वीरमान तामाङ बताउँछन्। उनीजस्तै पारित, सन्ज्या र बुद्धि तामाङलगायत युवाहरुले यो व्यवसाय गरेका छन्। डल्ले खुर्सानी औषधिजन्य भएको हुनाले स्थानीयस्तरमै बिक्री हुने र बढी भएको मात्र काठमाडौँसम्म लैजाने गरेको व्यवसायी वीरमान बताउँछन्।

गाउँपालिकाको कृषि शाखाद्वारा ५० प्रतिशत अनुदानमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत उक्त वडामा आधुनिक खेती गर्न प्रयोग गरिने मल्चिङ प्लाष्टिक पाएसँगै त्यहाँका युवा किसान डल्ले खुर्सानीखेतीमा आकर्षित हुँदै आएका कृषि शाखाका प्रमुख भूपेन्द्र वली बताउँछन्।

पर्यटकीय गाउँ हेलम्बुमा स्याउ, अलैंचीजस्ता कृषिउपज उत्पादन हुन्छन् । अहिले खुर्सानीले बजार लिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ । युवाहरु यसतर्फ आकर्षि भएपछि हामीले युवा प्रोत्साहनको कार्यक्रम ल्याएको उनले बताए । गाउँमै रोजगारीको वातावरण मात्रै नभई स्थानीय उत्पादनले गाउँपालिकालाई अर्थतन्त्रमा अब्बल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले सुनाए । गाउँपालिकाको कृषि शाखाले डल्ले खुर्सानी व्यवसाय गर्ने किसानलाई मल्चिङ प्लाष्टिक र प्राविधिक सहयोग गरेको उनले जानकारी दिए।

नुवाकोट र सिन्धुपाल्चोकको सिमाना पर्ने गोल्फु भञ्ज्याङ नजिक रहेको हेलम्बुको ‘भारती डिप्लोमा’ गाउँ समुद्री सतहदेखि एक हजार ८०० मिटर उचाइमा रहेको छ। गाउँभन्दा माथि दुई हजार ४०० मिटर उचाइ रहेको लेकमा लटरम्म स्याउ फलेको देख्न सकिन्छ भने तल गाउँमा पाखोबारीमा किसानले लगाएको डल्ले खुर्सानीको हराभरा देख्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित