गन्तव्य जनैपूर्णिमा : पाँचपोखरीको अचम्मलाग्दो ऐतिहासिक पक्ष, किन जाने स्नान गर्न ?

गन्तव्य जनैपूर्णिमा : पाँचपोखरीको अचम्मलाग्दो ऐतिहासिक पक्ष, किन जाने स्नान गर्न ?

फरक पत्रिका

बुधबार, साउन २२ २०८२

गन्तव्य जनैपूर्णिमा : पाँचपोखरीको अचम्मलाग्दो ऐतिहासिक पक्ष, किन जाने स्नान गर्न ?

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट स्याउले हुदै पर्यटकीय गाउँ ओखरेनी हुँदै पदयात्रामा दुई दिनको दुरीमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम स्थित साविक भोताङ गाविसको वडा नं १ मा अवस्थित छ । यो हाल पाँचपोखरी थाडपाल गाउँपालिकामा पर्दछ ।
काठमाडौंबाट मेलम्चीसम्मको बस यात्रापछि तिपेनी थाङपालधाप बाट पनि एकदेखि डेढ दिनमा पाँचपोखरी पुग्न सकिन्छ । भैरवकुण्ड, सरस्वती कुण्ड, गणेशकुण्ड, स”र्यकुण्ड र नागकुण्ड गरी पाँचवटा कुण्ड अर्थात पोखरी रहेकोले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो ।

हरेक बर्ष जनै पुर्णिमाका अवसरमा यहाँ एक हप्ता मेला लाग्छ । यस मेलामा विशेष गरी तामाङ जातिका झाँक्रीहरु बढी जाने र झाँक्री पहिरनमा ढ्याङग्रो बजाएर नाच्ने गर्छन् । हिजोआज महिला झाँक्रीको संख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको पाइन्छ । दुइतीन पटकसम्म उक्त मेला भरेर फर्केपछि मात्र झाँक्रीहरु विशेष रुपमा पारङगत भएको मान्ने चलन यहाँ रहेको पाइन्छ ।

इन्द्रावती र ब्रम्ह्मायणी (बलेफी) नदीको उद्गम स्थलका रुपमा रहेको पाँचपोखरीमध्ये सबैभन्दा ठूलो पोखरी सरस्वती कुण्ड हो । यो कुण्ड बीच भागमा पर्दछ । वैज्ञानिक रुपमा कुण्डको गहिराई मापन नभएकोले ठ्याक्कै यति गहिराइ नै हो भन्न नसके यसको चारैतिर परिक्रमा गर्न लाग्ने झण्डै एक घण्टा भन्दा बढी समयले यो कुण्ड निकै नै गहिरो हुन सक्ने अनुमान लगाउन सकिन्छ । यहाँका कुण्डमा दुइ जोडी राजहाँस अटुट रुपमा रहिरहेको पाइन्छ । जुनसुकै मौसममा पनि यसरी जोडी राजहाँस रहनु यहाँको एउटा अचम्मको विशेषता मानिन्छ । यस क्षेत्रमा होहल्ला हुँदा, बाजागाजा बजाउँदा हिँउ पर्ने कुरामा पनि धेरैले विश्वास गर्दछन् । धेरै बर्ष अघि गोले थरका झाँक्री आफ्नै असावधानीका कारण तान्त्रिक विद्यामा नाग कुण्डको नागद्धारा पराजित भइ मृत्यु भएका कारण हालसम्म पनि गोले थरका मानिसहरु नाग कुण्डमा जाने नगरेको स्थानीय बासिन्दाहरुको भनाइ पाइन्छ ।

पाँचपोखरीको धार्मिक तथा ऐतिहासिक महत्व

स्कन्ध पुराण केदार खण्डका अनुसार सत्ययुगमा दक्षप्रजापतिद्धारा आयोजित यज्ञमा महादेवलाई नबोलाएकोमा सतीदेवीले गुनासो गर्दा पिताको मुखबाट पतिको निन्दा भएको सहन नसकी सोही यज्ञकुण्डमा हामफाली देहत्याग गर्नुभएको र शिवले सतीदेवीको मृत शरीरलाई बोकेर हिंड्दा सतीदेवीको सम्पूर्ण शरीर पतनपश्चात् शिवले उत्तरापन्थमा तपस्या गर्न जाँदा सिंहमती नदीको शिरमा एक पाइला टेकेपछि त्यस ठाँउमा पादुका आकारको सानो तलाउ र नयाँ लिङग सिर्जना भयो । नयाँ लिङगको नाम नवलिङगबाट अपभ्रंश भएर कालान्तरमा नौलिङग रहन गएको बयान छ । सो नौलिङग डाँडा यसै जिल्लाको लागर्चे गाविसमा पर्दछ भने सिंहमती नदी झ्याडी खोलाको नामले परिचित छ । त्यसैगरी नौलिङग डाँडाको उत्तरपूर्वको सामुन्ने पारिपट्टीको डाँडामा शिवले पाँच रात उपवास बसी पाँचवटा दहमा नुहाएको हुँदा पाँचपोखरी नामकरण भएको भन्ने भनाइ छ । यहाँका कुण्डमा स्नान गर्नाले पाप नाश हुन्छ भन्ने विश्वास रहेको पनि पाइन्छ ।

त्यसैगरी स्कन्ध पुराणमा हिमवत् खण्डमा पनि पञ्चपोखरी नामको महान् तिर्थस्थल रहेको र तीर्थराज प्रयाग, वाण गंङगा (कुरुक्षेत्र) र पाँचपोखरी समान रुपले पुण्यदायी तीर्थ हुन् भनी उल्लेख रहेको पाइन्छ । शिव पुराण अनुसार हिमालयपुत्री पार्वतीले घोर तपस्या गरेपछी शिव प्रसन्न भई इन्द्रको रुपधारण गरी वरदान माग भने । पार्वतीले महादेव पति पाउँ भनेपछी इन्द्ररुपी महादेवले शिवको निन्दा गर्दै आफँसँग विवाह गर्न भने । त्यो सुनेर पार्वती क्रोधित भइ श्राप दिन लाग्दा शिव त्रसित भइ आफनै रुपमा दर्शन दिए । शिवको साक्षात दर्शन पाएपछि पार्वतीका दुइ लाल नेत्रबाट शहाश्र्सुधारा बग्नथाल्यो । सोही अश्रुधाराबाट दुइवटा नदी बन्यो । इन्द्रको रुप लिएर परमब्रम्हाको दर्शन दिएको कारण ती नदीको नाम इन्द्रावती र ब्रम्हायणी (बलेफी) रहन गएको मानिएको छ । ती दुवैको उद्गम स्थल पाँचपोखरीको डाँडा भएको हुँदा यसको छुट्टै महत्व रहेको छ ।

पाँचपोखरीमा विश्वामित्र र शृङगी ऋषीले तपस्या गरेका थिए भन्ने धामिक किंवदन्ती पाइन्छ । ऐतिहासिक दृष्टिकोणबाट पनि यस क्षेत्र अगाडी नै छ । रणबहादुरकी जेठी महारानी राजेश्वरीले हेलम्बुमा तीन बर्षसम्म निर्वासित जीवन बिताएको थियो भने प्रधानमन्त्री भीमसेन थापा लखेटिँदा पनि यसै जिल्लामा गएर बसेका थिए । भीमसेन थापाले चलाएको पाँचपोखरी दर्शनार्थ जानेहरुलाई दही, चिउरा खुवाउने चलन अझै पनि कायमै छ । काठमाडौ,भक्तपुर, ललितपुर,नुवाकोट,रसुवा,दोलखा काभ्रे लगायत देशका विभिन्न जिल्लाबाट जनै पुर्णिमाका दिनका लागि पाँचपोखरी पदयात्रामा निस्किनेहरुको भीड एक हप्ता अगाडी देखि नै लाग्ने गर्दछ । वर्षको एकपटक मानीसहरु यो स्थानमा दर्हनका लागि पुग्ने गरेका छन् । पदयात्रा निस्कँदा खाना र सुत्ने ट्रेनको व्यवस्था आफै गरेर जान सके यात्रालाई निकै रोमाञ्चक बनाउन सकिन्छ ।

आर्थिक महत्व

करिब ९७ प्रतिशत तामाङ जातिको बसोबास रहेको भोताङ पर्ने पाँचपोखरी स्थानमा कुनै बसोबास छैन । गाउँ क्षेत्रबाट पँरै एक दिन लाग्ने पाँचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । सुनपाती, भैरङपाती, धुपीलगायतका वनस्पति पाइने उक्त स्थान समुन्द्री सतहबाट ४,१५१ मिटरको उचाइमा रहेको छ । सामान्यतया यहाँ पदयात्रामा जाँदा लेक लाग्ने गर्दछ ।

प्रत्येक बर्ष असोज–कार्तिकमा विदेशी पर्यटकहरु पदयात्रामा आउने यो क्षेत्र पर्यटकीय र धार्मिक दृष्टिले मात्र महत्वपँर्ण नभइ जडीबुटीको भण्डारका रुपमा समेत परिचित छ । यहाँ विश्वमै दुर्लभ मानिएका पाँच किसिमका रैथाने प्रजातिका वनस्पति फेला परेका छन् । विश्व वन्यजन्तु कोषको एक टोलीले गरेको भौगोलिक एवं जैविक विविधतासम्बन्धमा साताव्यापी स्थलगत अध्ययन अनुसार मेकोनोसिस, क्रेमान्योजियम, कोरिडालीस, बारबेरीस र स्थानीय भाषामा जङगली जिराको नामबाट परिचित क्यारामकुर्मी जातका वनस्पति फेला परेका छन् । सो क्षेत्रमा अवस्थित एकोटिमग्यामी र एपिक्याट्मल नामक प्रजातिका जडीबुटी लोप हुने अवस्थामा पुगेकोले त्यसको सङकलन र बिक्री वितरणमा समेत रोक लगाउनुपर्ने सुझावसमेत टोलीले दिएको थियो । त्यस्तै यार्सागुम्वा, पाँचऔले, पदमचाल, रक्तचन्दनलगायतका ६४ प्रजातिका जडीबुटी यस क्षेत्रमा पाइएको टोलीले बताएको छ । मृग, हाब्रे, जस्ता वन्यजन्तुसमेत फेला यस क्षेत्रमा फेला परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित