सिन्धुपाल्चोक । वैदेशिक रोजगारीका क्रममा विभिन्न १४ देशको भूमिमा बसे सिन्धुपाल्चोकका ललित गिरी । उनी खाडीदेखि युरोप हुँदै अमेरिका पनि पुगे । समग्रमा १२ वर्ष उनी विदेशमै रहे ।
विभिन्न मुलुक घुमेर उनले सीप सिके अनि कमाइ पनि गरे । विदेशमा पसिना बगाउन दिक्क लागेर उनले आफ्नै देशमा केही गर्छु भन्ने सोचे अनि २०७१ सालमा नेपाल फिरे । अनि भक्तपुरमा क्याफे खोले । जसमा विदेशमा कमाइ गरेको १७ लाख रूपैयाँ लगानी थियो । यसमा अन्य पाँचजनाको पनि लगानी थियो । सबै जना विदेशबाटै फर्केका थिए । अझ भनौं विदेशमा सेफको काम गरेका युवाहरुको सयूक्त लगानी थियो भक्तपुरको गठ्ठाघरमा रहेको क्याफे । नाम थियो मझेरी क्याफे एन्ड लाइभ सेकुवा ।
मेनुमा उनीहरूले सेकुवा र अन्य विभिन्न परिकार राखे। तौल गरेर किलोका हिसाबमा सेकुवा किनेर खान पाउने सुविधा दिए। यो सुविधा ग्राहकले मन पराए, भिड बढ्यो।
भक्तपुरमा चार वर्ष उनीहरुले क्याफेमा बसेर बिताए । पछि फेरि उनीहरुमा सोच आयो कि आफ्नै गाउँमा लगानी गर्ने । सिन्धुपाल्चोकको सुकुटेमा पर्यटनको राम्रो सम्भावना देखेर २३ रोपनी जग्गा भाडा लिएर ड्रिम प्रोजेक्ट सुकुटे रिभर फन बिच रिसोर्ट स्थापना गरेको ललित बताउँछन् ।
ललित गिरीसहितका युवा हाल सुकुटेमा होटल व्यवसायमा जमेका छन् । यो रिसोर्ट सात जना युवाले साझेदारीमा चलाएका छन्— टंकनाथ गुरागाईं, ललित गिरी, राजकुमार गिरी, विष्णुराज गिरी, विमल गिरी, विष्णुसिंह ठकुरी र विजुलराज गिरी।
उनीहरूमध्ये ६ जना वैदेशिक रोजगारीबाट फर्केका हुन्। यहाँ भने उनीहरुले होटलमा सेफको काममा कार्यरतलाई पनि लगानीमा साझेदारी गरेका हुन् ।
वार्षिक ३ लाख रूपैयाँ जग्गाभाडा दिने गरी सुरू भएको व्यवसाय अहिले करिब ९ करोड पुगिसकेको अर्का सञ्चालक विमल गिरी बताउँछन् । सुरूको लगानी उठाएर भाडामा लिएको ८ रोपनी जग्गा रिसोर्टले आफ्नै नाममा किनिसक्यो ।
विमलकाअनुसार रिसोर्टको रेस्टुरेन्टमा ग्राहकले खसीको सेकुवा, माछाका परिकार, मःम, चाउमिन, पिज्जा, चिया, कफी र खाजाका विभिन्न परिकार पाउँछन्। सुनकोशीको असला माछा, लोकल भालेको परिकारका साथ कोदो र फापरको ढिँडो पनि पाइन्छ। मौसम अनुसार अमला, लप्सी र कोइरालोको अचार पनि पाइने विमल बताउँछन् ।
सञ्चालक विमलको दाबी छ–हामी ग्राहकलाई चाहिने स्वादमा परिकार दिन सक्छौं । हामीसँग खाना बनाउने खुबी छ । विदेशको स्वाद यहीं दिन्छौं । विदेशको जस्तै स्वस्थकर खाना खुवाउँछौं ।
रिसोर्टले अहिले १८ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । आफ्नै फार्ममा उत्पादित कृषिवस्तु खुवाउनु रिसोर्टको मुख्य विशेषता हो। उनीहरूको रिसोर्टले सुनकोशीमा र्याफ्टिङ पनि गराउँछ।
रिसोर्ट कुल ३५ रोपनी जमिनमा फैलिएको छ। त्यसमध्ये ११ रोपनीमा तरकारी र फलफूल खेती छ।