सिन्धुपाल्चोक । नेपाल र चीनबीचको स्थलमार्ग सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै पहिलोपटक हेलिकोप्टर आयात भएको छ। यो नाका हुँदै ४० फुटे टेलरमा राखेर हेलिकोप्टर नेपाल ल्याएको हो।
यसअघि इलेक्ट्रोनिक सामान, लत्ताकपडा, फलफूल र सवारीसाधन भित्रिने गरे पनि हेलिकोप्टर आयात भने पहिलोपटक गरिएको हो।
चीनको विभिन्न सहरबाट सामान ल्याउँदै आएको आडो ट्रान्सपोर्ट कम्पनीले बुधबार बेलुकी हेलिकोप्टर आयात गरेको हो ।
नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाकाबाट ल्याउने तयारी गरेको जनाएको छ।
तातोपानी भन्सार कार्यालयका अनुसार एक–दुई दिनभित्र भन्सार जाँचपास प्रक्रिया पूरा हुनेछ। यसबाट ४ करोड १२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन हुने अनुमान छ।