सिन्धुपाल्चोक । नेपाल र चीनबीचको तातोपानी नाकामा लोड–अनलोड गर्ने मजदुरहरुको रोजीरोटी गुम्ने भएको छ । चीनबाट आयातित सामान अब सिधै चोभार बन्दरगाहमा लगिने भएपछि ढुवानी गर्दै आएका कन्टेनरसमेत विस्थापित हुने भएका हुन् ।
उत्तरी नाका तातोपानी र रसुवाबाट नेपालका लागि आयात हुने मालवस्तु चिनियाँ सहरबाट सिधै काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा ल्याइने भएको हो । सामान ढुवानीका लागि चाइना रेलवे कम्पनीले प्रारम्भिक काम कार्यान्वयनमा ल्याएको छ ।
कम्पनीले ढुवानीको जिम्मेवारी लिएसँगै नाका हुँदै ढुवानी गर्दै आएका एक हजारभन्दा बढी २० र २४ फुटे कन्टेनर विस्थापित हुने अवस्था हुन्छ । चिनियाँ ४० फुटे टेलर सिधै चोभार लगिने भएपछि नाकामा कन्टेनर र मजदुरको काम हुँदैन । दुवै नाकामा एक हजारभन्दा बढी मजदुर छन् । उनीहरु बेरोजगार हुनेछन् ।
नेपाल भन्सार तथा विमानस्थलसम्बद्ध श्रमिक संघका ६ सय ४० मजदुर र ट्रक कन्टेनर व्यवसायीले चिनियाँ ४० फुटे टेलर सीधै चोभार ल्याउँदा रोजीरोटी गुम्ने भएकाले विरोध जनाएका छन् ।
नेपाल सरकारले आयात–निर्यातलाई थप सहज र आधुनिक बनाउन निर्माण गरेको चोभार बन्दरगाहमा तातोपानीबाट दैनिक १० वटा ४० फुटे कन्टेनर सिधै चोभार आइरहेका छन् ।
आयातकर्ता व्यापारीले नेपालबाट एलसी पठाएर चीनमा खरिद गरेको सामान अब विनाझन्झट काठमाडौं पुग्ने भएको हो । चीनको व्यापारिक केन्द्रबाट चाइना रेलवे कम्पनीले सामान ढुवानीको जिम्मा लिनेछ । चीन सरकारले सो कम्पनीलाई यस्तो जिम्मेवारी प्रदान गरेको हो । सर्वप्रथम चिनियाँ सहरबाट रेलको डब्बाभित्र राखेर ४० फुटे कन्टेनर तिब्बतको सिगात्सेसम्म आउँछ । त्यसपछि रेलको डब्बामा रहेको कन्टेनरलाई हुक एन्ड ड्रप प्रणालीद्वारा चिनियाँ ट्रकमा जडान गरिन्छ । सिगात्सेमा अवस्थित कस्टम ड्राइपोर्टमा सो कन्टेनरलाई जिपिएससहितको स्मार्ट सिलले लक गरिन्छ । उक्त सिल चिनियाँ क्षेत्रमा भन्सार अधिकारीले ट्र्याक गरेर कन्टेनरको अवस्था नियालिरहेका हुन्छन् । तोकिएको समयभित्र तोकेको गन्तव्यमा नपुगे कारबाहीको व्यवस्था गरिएको छ ।