बर्खामा पनि मेलम्ची काठमाडौं जाने, रिबर्मा खोलाको पानीसमेत लैजाने

बर्खामा पनि मेलम्ची काठमाडौं जाने, रिबर्मा खोलाको पानीसमेत लैजाने

फरक पत्रिका

मंगलबार, असार ३ २०८२

बर्खामा पनि मेलम्ची काठमाडौं जाने, रिबर्मा खोलाको पानीसमेत लैजाने

सिन्धुपाल्चोक । यसवर्षको बर्खामा पनि मेलम्चीको पानी काठमाडौं लैजाने भएको छ । यसअघिका बर्खामा काठमाडौंमा पानी लैजान बन्द गरिने गरिएकोमा यो वर्ष भने उपत्यकावासीको घरघरमा मेलम्ची पानी वितरण गरिने भएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँवासीका घर घरमा वितरण हुने बताएका छन् ।

मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण पश्चात मन्त्री यादवले अब बर्षातको समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए ।

“काठमाडौँमा पानी बितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको आज सफल परिक्षण भएको छ । बर्षायाम सुरु भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै अब वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङमार्ग हुँदै काठमाडौँमा आपूर्ति गरिने व्यवस्था गरेकाछौँ ।” उनले भने ।

बर्षायाममा रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट पठाइने र काठमाडौँ बासीलाइ उक्त खोलाको पानी बाह्रै महिना निर्वाध रुपमा बितरण गरिने मन्त्री यादवले जानकारी दिए ।

रिबर्माको पानी परिक्षण गरिएसँगै वर्षायामको बेला हरेक वर्ष मेलम्चीको पानी वितरणमा अवरोध आउने परम्परालाई तोड्दै मन्त्री यादवको सक्रिय पहलमा यसपालि वर्षायाममा पनि मेलम्चीको पानी काठमाडौँमा आउने सुनिश्चित भएको बताइएको छ ।
बर्षातको समयमा मेलम्चीको पानी काठमाडौँमा पथान्तरण गर्न नसकिने अवस्थामा मेलम्चीकै टनेलबाट रिर्बामाबाट दैनिक पाँचदेखि सात करोड लिटर पथान्तरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु तयार भइसकेका छन् । हाल उक्त खोलामा उपलब्ध पानी सुरुङमार्फत काठमाडौँमा पथान्तरणको सफल परिक्षण गरिएको छ । अब बर्षातको समयमा पनि काठमाडौँमा पानी बन्द हुने छैन ।

मेलम्ची आयोजनाका प्राविधिक, सुरक्षाकर्मी र आपूर्ति टोलीहरू त्यहाँ २४ सै घण्टा खटिएका छन् भने बाढी लगायतको उच्च जोखिमलाई समेत मध्यनजर गर्दै सुरुङमार्ग र वितरण प्रणालीको मर्मत तथा सुरक्षा मजबुत बनाइएको जनाइएको छ ।

बिसं २०७८ सालको विनाशकारी बाढीले मेलम्चीको मुहान क्षेत्रमा पुर्‍याएको क्षतिपछि बर्षायामको समयमा नियमित खानेपानी आपूर्तिमा गम्भीर अवरोध उत्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित