पालिकाको विज्ञप्तिलाई लत्याउँदै मोहन बस्नेतले गरे स्वास्थ्य चौकीको उद्घाटन

पालिकाको विज्ञप्तिलाई लत्याउँदै मोहन बस्नेतले गरे स्वास्थ्य चौकीको उद्घाटन

फरक पत्रिका

मंगलबार, जेष्ठ ७ २०८२

पालिकाको विज्ञप्तिलाई लत्याउँदै मोहन बस्नेतले गरे स्वास्थ्य चौकीको उद्घाटन

सिन्धुपाल्चोक (ठोकर्पा) । सुनकोशी गाउँपालिकाको विज्ञप्तिलाई लत्याउँदै काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । मंगलबार बस्नेतले सुनकोसी गाउँपालिका– २ मा नवनिर्मित ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका हुन् ।

बस्नेतबाट सो चौकीको उद्घाटन रोक्न गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले आइतबार विज्ञप्ति नै जारी गरेका थिए । अध्यक्ष तिमल्सिनाले सनिवार बिज्ञप्ति जारी गरी भ्रष्टाचार मुद्धामा विशेष अदालतमा मुद्धा दर्ता भइसकेको र सांसद पदवाट समेत निलम्वित भएको अवस्थामा बस्नेतवाट भवन उद्घाटन नगर्न नगराउन भनेका थिए । अध्यक्ष तिमल्सिनाद्धारा जारी बिज्ञप्तिमा गाउँपालिकाको लिखित अनुमति विना कुनै पनि संघ÷संस्थाले उद्घाटन कार्य नगर्न नर्गन र कर्मचारी समेत उक्त कार्यक्रममा सहभागि नहुन निर्देशन दिएका थिए ।

भ्रष्टाचार मुद्दा लागेका बस्नेतलाई चौकी उद्घाटन गर्न नदिने र कसैले गराए कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । त्यसको बाबजुद काँग्रेसका सयौं नेता कार्यकर्ताको उपस्थितिमा बस्नेतले चौकी उद्घाटन गरेका हुन् । काठमाडौंदेखि नै नेता कार्यकर्ताको स्कर्टिङमा जिल्ला पुगेका बस्नेतलाई नेता कार्यकर्ताले बाजा गाजासहित भव्य स्वागत गरे ।

गाउँपालिकाको निर्देशन बिपरित सुनकोशी गाउँपालिका–२ नम्बर वडाका वडा अध्यक्ष पूर्णवहादुर महतले नेपाल सरकारका पूर्वमन्त्री मोहनवहादुर बस्नेतले भवन उद्घाटन गर्ने भनेर प्रचार गरेका थिए । महत कांग्रेसवाट निर्वाचित वडा अध्यक्ष हुन् ।

सुनकोशी गाउँपालिकाको गत वैशाख २५ गते बसेको बैठकले ठोकर्पा स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलवाट उद्घाटन गर्ने मौखिक सहमति गरेको थियो ।

सोमबार नै बस्नेतले लिसंखुपाखरमा गाउँपालिकामा निगाले नारगाउँ खानेपानीको उद्घाटन गरेका थिए । कार्यक्रम रोक्न गाउँपालिका अध्यक्षले विज्ञप्तिनै जारी गरेपनि बस्नेतले खानेपानीको उद्घाटन भव्य रूपमा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित