सिन्धुपाल्चोक। सानो छँदा मात्रै हैन केही वर्ष अघिसम्म पनि उनलाई घर नजिकै रहेको झरनामा नुहाउन जान मन लाग्थ्यो, पौडी खेल्न जान मन लाग्थ्यो । साथीभाईसँग जाने आँट नगरेको पनि हैन तर उनको इच्छाले मूर्त रुप लिन पाएको थिएन कारण त्यही छाँगामा भूत आउने गरेको सुनेका थिए बलेफी गाउँपालिका–३ का प्रितमकुमार तामाङले ।
उसो त स्थानीय चिलाउने गाउँमा रहेको ठूलो छाँगामा भूत आउने गरेको गाउँभर हल्ला थियो । पाका उमेरका अभिभावकहरुले पनि छाँगामा भूत आउने गरेको सुनाउने गरेका थिए । त्यही कारण झरनामा गाउँका कोही जाँदैनथे । अहिले भने त्यो छाँगा प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदैछ ।
हो अहिले गाउँपालिकाको पहलमा ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ गरिन थालिएपछि आन्तरिक पर्यटकहरुको रस्साकस्सी चल्ने गरेको छ । पहिले छाँगामा पुग्नै आँट नआउने प्रितम अहिले आफैँ क्यानोनिङ र रक क्लाइम्बिङमा रमाउने गरेका छन् । ‘पहिला जान निकै डर लाग्थ्यो अनि जादिनँ थिएँ, अहिले आफैँले क्यानोनिङ र रक क्लाइम्बिङ गर्न पाउँदा निकै खुशी छु,’ उनले भने ।
बलेफी गाउँपालिका–३ मा रहेको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङको सपना उनै प्रितमले गाउँवासीलाई सुनाएका थिए । पाँच वर्षअघि सुन्दरीजलको जंगलभित्रको झरनामा क्यानोनिङ फेस्टिभलमा पुगेका उनले गाउँको ठूलो झरनामा यस्तै गर्न पाए हुने भन्ने सोचेका थिए । अहिले स्थानीय सरकारसामू उनले त्यसको प्रस्ताव राखेपछि गाउँपालिकाले यसको पहल थालेको उनी सुनाउँछन् ।
क्यानोनिङ र रक क्लाइम्बिङमा सहभागी हुने गरेका स्थानीय आसिम तामाङ पनि निक्कै खुशी छन् र सुरुमा डोरीको सहायताले झरनाबाट झर्नुपर्ने सुनेर आफू डराएको उनले अनुभव सुनाए । ‘निकै डर लागेको थियो तर प्रशिक्षकबाट यसबारे जानकारी पाएपछि आत्मबल बढ्यो अनि क्यानोनिङ र रक क्लाइम्बिङ दुवै गरें ।’ उनले भने ।
बलेफीको आ.व. २०८०÷८१ मा विनियोजन गरेको तीन लाख ५० हजार बजेटबाट सोही झरनामा यस सम्बन्धि आधारभूत पुर्वाधार तयार गरिएको वडा अध्यक्ष रितेश तामाङले बताए ।
ठूलो छाँगामा क्यानोनिङका लागि ३ स्तरको झरना रहेको छ । वडा अध्यक्ष तामाङका अनुसार माथिल्लो झरना (अर्थात पहिलो) करिब ९ मिटरकोमा आधारभूत अर्थात सिकारुहरुलाई सिक्न, बीचको करिब १२ मिटरको झरनामा सिकेर केही जान्नेहरुलाई र तल्लो अर्थात तेस्रो झरनामा करिब १७ मिटरकोमा एडभान्सहरुका लागि छुट्याइएको छ ।
ठूलो छाँगा क्यानोनिङ र रक क्लाइम्बिङका लागि उत्कृष्ट गन्तव्य बनेपछि गाउँपालिकाले स्थानीय १० युवाहरुलाई यस सम्बन्धि २ दिने आधारभुत तालिम समेत दिएको छ । तीन जना प्रशिक्षकहरु फिल्डमै पुगेर क्यानोनिङ र रक क्लाइम्बिङ गर्दा अपनाउनु पर्ने सुरक्षा नियमहरु, डोरी लगाउने तरिकादेखि झरनामा झर्ने र चड्ने उपयुक्त तरिकाहरु सिकाएका छन्। सुरुमा प्रशिक्षकको टिम र प्रशिक्षार्थीको टिमले तीन वटै झरनामा सफलतापुर्वक क्यानोनिङ र क्लाइम्भिङ गरेका थिए । अहिले यहाँ क्यानोनिङ र रक क्लाइम्बिङ गर्न आउनेहरुको चासो बढेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङले सधँै भूत लाग्छ, सातो जान्छ भनेंर बेवास्ता गरेर राखेको ठूलो छाँगा साहसिक खेलको केन्द्र बनाउन निरन्तर लागिरहेको बताइन् । पालिका भित्र रहेको यस्तै स्थानहरुमा पुर्वाधार निर्माण गर्न सके काठमाडौंबाट करिब ८५ किलोमिटर मात्र रहेको यो स्थानलाई अझै प्रवर्द्धन गर्न सके स्थानीयहरुका लागि आर्थिक उपार्जन र रोजगारीको केन्द्र बन्न सक्न उनले विश्वास व्यक्त गरिन् ।
अहिले बलेफीवासी र गाउँपालिका यसको प्रचार, संरक्षणमा जुटेको छ । पर्यटनबाट समृद्ध बलेफी निर्माणमा सघाउ हुने विश्वाससहित पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले जोड दिएको हो । अध्यक्ष गंगाबहादुर तामाङले बलेफीभित्र यस्तै थुप्रै पर्यटकीय सम्भावनाहरु भएका स्थानहरु रहेकाले ती स्थानहरुलाई प्रवद्र्धन गर्न लागि परेको बताए । उनले बलेफीमा अब साहसिक खेल ¥याफ्टिङसंगै क्यानोनिङ र रक क्लाइम्भिङ पनि थपेकोमा खुशी व्यक्त गरे ।