सुनसरी । दुई दिनदेखिको अबिरल बर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार पानीको बहाब अत्याधिक बढेकाले आइतबार बिहान ९ बजेदेखी सबै ढोका खोलिएको हो ।
प्रतिसेकेन्ड नौ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्युसेक पानी बगिरहेको भण्डारीले जानकारी दिए । आइतबार बिहान ६ बजे पानीको बहाब तीन लाख ४२ हजार क्युसेक रहेको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पानीको बहाब बढेसँगै निरन्तर अनुगमन गरिरहेको बताए । आफूहरुको पूरै ध्यान अहिले बाढी पहिरोमा केन्द्रित रहेकाले भारतीय पक्षसँग पनि समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए।
यसअघि २०७६ असार २९ गते पनि ब्यारेजका सबै ढोका खोलिएको थियो । पानीको बहाब अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोसीमा पानीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सुसूचित गरेको छ ।