प्रधानमन्त्री, सभामुख, मन्त्रीहरूले यसरी ढाँटे मेलम्ची बाढीपीडितलाई

प्रधानमन्त्री, सभामुख, मन्त्रीहरूले यसरी ढाँटे मेलम्ची बाढीपीडितलाई

फरक पत्रिका

सोमबार, असार ४ २०८१

प्रधानमन्त्री, सभामुख, मन्त्रीहरूले यसरी ढाँटे मेलम्ची बाढीपीडितलाई

सिन्धुपाल्चोक- २०७८ असार १ गते इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले हेलम्बु, पाँचपोखरी थाङपाल र मेलम्चीका सयौं घर टहरा बगायो। हजारौं विस्थापित बने । केहीको ज्यान बाढीले निल्यो । खेतीयोग्य जमिन नदीमा विलय भयो ।
बाढीले मानवीयसहित ठूलो भौतिक क्षति व्यहोरेको मेलम्ची, पाँचपोखरी थाङपाल र हेलम्बु क्षेत्रमा तत्काल निरीक्षणका लागि उच्च पदस्थ नेताहरू पुगे । बाढीले पीडित बनाएकालाई सरकारमा पुगेका नेताले विभिन्न आश्वासन दिए ।
मेलम्ची बाढी आएको तीन वर्ष बित्यो तर, ती आश्वासनलाई पूरा गर्न कुनै नेताले फर्केर हेरेनन् ।
बाढीपछि निरीक्षणमा पुगेका प्रधानमन्त्रीसहितका नेतालाई स्थायी पुनर्वास गराउने आश्वासन दिए पनि अझै कुनै पहलकदमी नभएको पीडितहरू बताउँछन् ।
बाढीपछिको अवस्था निरीक्षण गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री राजेन्द्र महतो, सभामुख अग्निप्रसाद सापकोटा, तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरेश नेपाल पनि मेलम्ची र हेलम्बु पुगेका थिए । सबैले हेलम्बु र मेलम्चीका बाढी पीडितसमक्ष अनेकन प्रतिबद्धता पनि गरे । तर, नेताका घोषणा तीन वर्ष बित्दा पनि प्रभावकारी देखिएको छैन ।
मेलम्ची पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपीडितका लागि तत्काल जस्ता पाता र अस्थायी आवासका लागि ५० हजार उपलब्ध गराउने प्रतिबद्धता गराएका थिए । उनले बाढीपीडीतको स्थायी आवासका लागि हेलम्बुमा प्रतिपरिवार पाँच लाख र मेलम्चीमा चार लाख उपलब्ध गराउने वचन पनि दिएका थिए ।
अहिले उनी प्रधानमन्त्री छैनन् । उनीपछि शेरबहादुर देउवा र त्यसिपछि पुष्पकमल दाहाल प्रधानमन्त्री बने ।
उसो त उपप्रधानमन्त्री राजेन्द्र महतो पनि बाढीपीडितको अवस्था बुझ्न मेलम्ची पुगेका थिए । उनले तत्कालका लागि अस्थायी वास प्राथमिकतामा रहेको बताएका थिए । एकीकृत बस्ती बसाल्ने आश्वासन दिँदै उनले सडक निर्माण तत्काल गर्नुपर्ने पनि बताएका थिए ।
बाढीलगत्तै सत्ता र शक्तिमा रहेका अन्य नेता पनि त्यहाँ पुगेका हुन् । सभामुख अग्नी सापकोटा, तत्कालीन स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सामाजिक विकास मन्त्रालयका मन्त्री सरेश नेपालले पनि पुनर्वासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर, यी सबै आश्वासन बाढी गएको तीन वर्षसम्म पनि कतै पहल गरिएको छैन ।
असार १ पछि पनि लगातार आएको मेलम्चीको बाढीले केही घर बगायो, खोला किनारका बस्तीमा कटान ग¥यो । डेढ महिनापछि फेरि सोही प्रकृतिको घटना दोहोरियो । दुई सयभन्दा बढी मेलम्ची किनारका बस्तीका बासिन्दा संकटमा रहे।
“नेताहरूको आश्वासन मात्रै आयो, बचेका बस्ती संरक्षणतर्फ पनि कसैको ध्यान गएन,” स्थानीय सागर श्रेष्ठले भने । उनले बस्ती संरक्षणका लागि पीडित आफै जुट्नुपरेको यथार्थ सुनाए । “बाढी हेर्न पर्यटक झैं सत्तामा पुगेका नेताहरु आए,” उनी थप्छन्, “बाढीपीडितलाई आश्वासन दिए, अनि राजधानी पुगेर बिर्सिए ।”
प्रभावित क्षेत्रमा पुगेका सबै नेताले विभिन्न आश्वासन बाँडे । बस्ती जोगाउन आश्वासन दिएर फर्केका नेताहरू त्यसयता नफर्केको स्थानीयको आरोप छ ।
“मनसुनअघि कुनै पनि सरोकारवालाको ध्यान यता आउँदैन । तर जब बाढी आउँछ सबैले निरीक्षण गर्न थाल्छन्,” स्थानीय भन्छन्, “कति बेला फेरि बाढी आँउछ ठेगान छैन, फेरि बाढी आएपछि हेलिकोप्टरबाट यहाँ आइपुग्ने नेता तथा मन्त्रीको भीड लाग्छ ।”
मेलम्ची बाढीले विस्थापित भएकाहरूको बासको अझै ठेगान छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित