मेलम्चीको पानी काठमाडौं लैजान रोकिने

मेलम्चीको पानी काठमाडौं लैजान रोकिने

फरक पत्रिका

बुधबार, जेष्ठ ३० २०८१

मेलम्चीको पानी काठमाडौं लैजान रोकिने

काठमाडौं– जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “यही जेठ ३१ गतेबाट सुरुङमा पानी पथान्तरण बन्द गर्ने खानेपानी मन्त्रालयमा निर्णय भएको छ तर मनसुन भित्रिए पनि ठुलो पानी नपर्दासम्म पानी पथान्तरण बन्द गरिने छैन ।”

उनले आफूहरू खोलाको पानीको ‘क्लोज मोनेटरिङ’ मा रहेको बताउँदै मुहान क्षेत्रमा ठुलो पानी परेर खोलामा लेदो बग्न थाल्यो भने पानी पथान्तरण तुरुन्त बन्द गरिने जानकारी दिए ।

२०७८ असार १ गते तथा साउन १६ र १७ गते भ्रेमथाङबाट आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स संरचनालाई तहसनहस बनाएको थियो, जुन अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । गत वर्ष असार २० गते पानी पथान्तरण बन्द गरिएको थियो भने माघ १ गतेदेखि उपभोक्ताको धारामा पानी पठाउन सुरु गरिएको थियो ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ कोे नीति तथा कार्यक्रम वर्षभरि नै मेलम्चीको खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित