सिन्धुपाल्चोक । स्थानीयवासीले मेलम्चीको पानी वर्षायाममा सुरुङ प्रवेश गराइएको पानी नदीतिर नफर्काउन चेतावनी दिएका छन् । मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरूले वर्षायाममा पनि सुरुङ प्रवेश गराइएको पानी निरन्तर पथान्तरण गर्न माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।
बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडित र स्थानीय दलका प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् ।
‘केही वर्षदेखि हिउँद शुरूवातसँगै तामझामका साथ पानी काठमाडौँ प्रवेश गराउने र जब मनसुन सुरु हुन्छ त्यसपश्चात पानी पुनः नदीमै फर्काउने र तटीय क्षेत्रको जोखिम ख्याल (वास्ता) नगर्ने प्रवृत्ति र मानसिकताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ सुरुङ प्रवेश गराइएको पानी यस वर्षको वर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाढी पीडित संघर्ष समिति, यस क्षेत्रमा क्रियाशील राजनीतिक दलका तर्फबाट विनम्रतापूर्वक संयुक्त अपिल गर्दछौँ ।’