हेलम्बुको आँखामा पर्यटन प्रवर्द्वनका लागि चौंरी

हेलम्बुको आँखामा पर्यटन प्रवर्द्वनका लागि चौंरी

फरक पत्रिका

बिहिबार, जेष्ठ १७ २०८१

हेलम्बुको आँखामा पर्यटन प्रवर्द्वनका लागि चौंरी

सिन्धुपाल्चोक । राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोकको प्रमुख पर्यटकीयस्थल हेलम्बुलाई अब चौंरी अवलोकन गर्न जाने गन्तव्यका रुपमा विकास गरिन लागिएको छ । पछिल्ला वर्षदेखि हिमाली क्षेत्रमा पालिने चांैरी लोप हुन थालेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यसको संरक्षण अभियान चालेको हो ।
हेलम्बु यसअघि नेपाल सरकारले घुम्नै जानपर्ने उत्कृष्ट एक सयको सूचीमासमेत राखको थियो । यहाँ चीनको ग्रेटवालपछिको दोस्रो ठूलो ग्रेटटेल निर्माणाधीन छ । गुम्बै गुम्बाको गाउँ, स्याउको सहरजस्ता उपनामले चिनिइने हेलम्बुमा थप पर्यटक आकर्षित गर्न पछिल्लो समय चौंरी संरक्षण अभियान चालिएको गाउँपालिकाले जनाएको छ ।
चौंरीप्रति आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित हुने भएकाले गाउँपालिका यसको संरक्षणमा जुटेको हो । पछिल्ला केही वर्षदेखि नेपालमा हिमाली गाउँहरुमा चौंरी देख्न छाडिएको छ । चौंरी लोप हुने संकेत देखेपछि यस्तो अभियानको सुरुआत गरिन लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।
पछिल्ला समय चौरी र याकको सङ्ख्या घटिरहेकोले त्यसलाई बढाउन उक्त गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ । चौरी लोप हुन लागेको भन्दै ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाड्न लागिएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।
हेलम्बुमा माथिल्लो बस्तीहरुमा अचेल किसानहरुले चौंरी पाल्न कम गरेको निष्कर्षपछि गाउँपालिकाले निशुल्क रुपमा भाले चौंरी लग्ने, चौंरीको बीमा गर्नै जस्ता कामहरु गर्दै आएको हो ।
हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङलगायतका स्थानमा चौरी, याक हेर्न पाइन्छ । तर अहिले हेर्न पनि नपाउने अवस्था आउन लागेको भन्दै चौंरी संरक्षणमा पालिका लागिरहेको उनले बताए। हेलम्बुले यसअघि नै चौरी संरक्षण अभियानअन्तर्गत बीमा गरेको छ ।
चौंरीपालन गरेमा स्थानीयको आर्थिक हैसियत बलियो हुने, गाउँवासीले रोजगारी पाउने मात्रै नभई चौंरीकै कारण पर्यटक बढ्ने भएकाले यस्तो अभियान ल्याईएको अध्यक्ष शेर्पा बताउँछन् ।
याकको संख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने शेर्पाको भनाइ छ । ‘जसरी हुन्छ गाउँमा पर्यटक भित्र्याउने हाम्रो अभियान हो, त्यसैले हामीले यसवर्ष चौंरी संरक्षणको काम अगाडि बढाएका छौं,’ अध्यक्ष शेर्पाले कारोबारसँग भने, ‘अहिलेका युुवाहरुले चौंरी किताबका चित्रमा मात्रै देख्न पाउने अवस्था आएको छ, राजधानीबट नजिकै भएकाले चौंरी हेर्न हेलम्बु जानुपर्छ भन्ने मानसिकता बनाउन यो रणनीति ल्याइएको हो ।’
हेलम्बुमा लोपोन्मुख रेडपाण्डा, एकीकृत ह्योल्मो बस्ती, आँखा नजिकै देखिने हिमाल, झरना, ग्रेटटेल, गुम्बा, नौलो ह्योल्मो संस्कृति, स्याउ, होमस्टेको मजा लिन पर्यटकहरु आउने गर्दछन् । चौंरी हेलम्बुमा आउने पर्यटकका लागि थप गन्तव्यका लागि विकास गर्न लागिएको उनले बताए ।
हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो । ह्योल्मो संस्कृति नेपालमा नौलो मानिन्छ जुन हेलम्बुमा हेर्न सकिन्छ । हेलम्बुका समाजसेवी तथा मेलम्चीघ्याङ माविका प्रधानाध्यापक पूर्ण गौतम गाउँपालिकाको यो अभियानले गाउँमा अर्थतन्त्रमा सुधार ल्याउन सघाउ पुर्याउने विश्वास राख्छन् । उनले चौंरी हेर्नकै लागि पर्यटक भित्रिए यहाँको उत्पादन विक्री हुने, हेलम्बुमा व्यापार फस्टाउने मात्रै नभई झनै पर्यटक आकर्षित हुने बताए ।
हेलम्बु लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पनि पर्दछ । त्यसैले यहाँ रेडपाण्डाका लागि पनि पर्यटकहरु आउने गरेका छन् । हिमाली भेगमा रेडपाण्डा, हिमालसँगै चौंरी हेर्न र यहाँको ह्योल्मो संस्कृतिबारे जानकारी लिई होमस्टेमा बस्न सकिने गौतमले सुनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित