ब्रान्डसहितकाे सिस्नु उत्पादनमा सिन्धुपाल्चोकका महिला

ब्रान्डसहितकाे सिस्नु उत्पादनमा सिन्धुपाल्चोकका महिला

फरक पत्रिका

सोमबार, बैशाख १० २०८१

ब्रान्डसहितकाे सिस्नु उत्पादनमा सिन्धुपाल्चोकका महिला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्राङ्गारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन् । जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेरगइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन् ।

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिकरूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताए । “अब सिस्नुको धुलो प्याकेटमा बिक्री गर्छौ चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौँ,” उनले भने । अहिले नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ ।

माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ । सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन् । सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने  गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापामगरले बताए ।

“यसलाई एउटा नाम दिएर राजधानीलगायत अन्य स्थानमा पु¥यााउने लक्ष्य लिएका छौँ,” उनले भने,“यसका लागि गाउँपालिकामा कुरा गरेका छौं ” । सुरुमा दश जनाको महिला समूहले कृषि उत्पादनमा सिस्नुलाई नै रोजेका हुन् । अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन् ।

“सुस्नु उत्पादन गर्न थालेयता हाम्रो छुट्टै पहिचान बनेको छ।” अध्यक्ष थामामगरले भन्नुभयो । सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक रु १५ हजारसम्म आम्दानी गर्दै आएका छन्  । “उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौँ” व्यावसायिक सिस्नु खेतीमा रमाउनुभएकी सुन्तली नेपालीले भने,“त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ ।” यताउति यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नुलाई धुलो पार्ने उपकरण उपलब्ध गराएपछि महिलाले यो खेतीलाई व्यावासयिक बनाएका हुन् । पच्चिस सदस्यमध्ये दश जनालाई विभिन्न संस्थाले  तालिम दिनाका  साथै उपकरण उपलब्ध गराएका थिए । सिस्नुको उत्पादन देखेपछि गाउँमा यसको लहर नै चलेको छ । गाउँलेले खेतबारीमा पनि सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ । ठूलो परिणाममा उत्पादन हुन थालेपछि बजारका लागि गाउँपालिकामा  सहकारीले अनुरोध गरेको अध्यक्षले थापामगरेले  बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2026 All right reserved to Simali Media Pvt. Ltd.  |सर्वाधिकार सिमली मिडिया प्रा.लि.मा निहित