सिन्धुपाल्चोक । हिम रिभर पावर लिमिटेडले प्रवर्द्धन गरेको १६।२६ मेगावाट क्षमताको लिपिङ खोला जलविद्युत् आयोजना केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिएको छ। सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका–२ मा सञ्चालित उक्त आयोजनाबाट उत्पादित विद्युत् २०८३ साल मंसिर ६ गतेदेखि विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा जोडिएको हो।
आयोजनाले आधिकारिक रूपमा विद्युत् उत्पादन तथा प्रसारण सुरु गरेसँगै कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओं) निष्कासन गर्ने तयारी गरेको छ।
कम्पनीले आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको प्रतीक्षा गरिरहेको छ। बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्नेछ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर निष्कासन गर्न लागेको हो। यसका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीका अनुसार निष्कासन गरिने सेयरमध्ये १३ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
कम्पनीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकामा लिपिङ खोला जलविद्युत् आयोजना निर्माण गरेको हो। आयोजना सम्पन्न गरी आधिकारिक रूपमा केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ।
हिम रिभर पावर कम्पनी २०६७ सालमा प्राइभेट कम्पनीका रूपमा स्थापना भएको थियो। पछि सन् २०२२ मा लिमिटेड कम्पनीमा रूपान्तरण भएको कम्पनीले विद्युत् उत्पादन सुरु गरेको हो।