काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले वैधानिक महाधिवेशन र प्रक्रियामा सहभागी नभई पार्टीविरुद्ध गतिविधि गर्ने जनप्रतिनिधिको छानबिन गरी विधान अनुसार कारबाही गर्नुपर्ने बताएका छन् । पार्टीको नीति, विधान र हितविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने उनले माग गरेका हुन् ।
बुधबार केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै तिमल्सिनाले निर्वाचन आयोगमार्फत त्यस्ता जनप्रतिनिधिलाई पदमुक्त गर्नसमेत माग गरे।पार्टीको टिकट, झण्डा र कार्यकर्ताको मेहनतबाट निर्वाचित भएका जनप्रतिनिधिले पदमा पुगेपछि पार्टीको अनुशासन उल्लङ्घन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको बैधानिक महाधिवेशन र बिधि,प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्। पदमा पुगेपछि अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्बाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु,’ उनले केन्द्रीय समिति बैठकमा भने।
उनले कांग्रेसको ऐतिहासिक नाम, चारतारे झण्डा र चुनाव चिह्न रूखको अनधिकृत प्रयोग रोक्न पनि माग गरे।
स्थानीय तह निर्वाचनको तयारी अहिलेदेखि नै सुरु गर्नुपर्ने भन्दै तिमल्सिनाले वडा तहसम्म संगठन परिचालन, पारदर्शी मापदण्डका आधारमा उम्मेदवार छनोट र स्थानीय स्तरमा लोकप्रिय व्यक्तिलाई समयमै टिकट दिनुपर्ने बताए। युवालाई पार्टीमा जोड्ने तथा शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई प्राथमिकता दिएर व्यावहारिक घोषणापत्र बनाउनुपर्ने उनको सुझाव छ।
उनले पार्टी र जनप्रतिनिधिबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको पनि बताएका छन्।