सिन्धुपाल्चोक । अबको तीन दिनसम्म सिन्धुपाल्चोकमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । असोज ९ गतेसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
सिन्धुपाल्चोकसहितका जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा उल्लेख छ । भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले प्रशासनले अत्यावश्यकबाहेक टाढाको तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
प्रशासनले जिल्लाका स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवाला निकायलाई समुदायलाई सुसूचित गरी प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्जाभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ।
जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा महत्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारीलाई कार्यालय नछाड्न र बिदामा नबस्नसमेत भनिएको छ। स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत तथा विपद् सम्पर्क व्यक्ति र कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमै रहेर समुदायसँग सहकार्य गर्न आग्रह गरिएको छ।